सुनसरी /धरानमा पाटे बाघ फेला परेको हल्लाले स्थानीयमा तरङ्ग फैलाएको थियो । तर कोशी टप्पु बन्यजन्तु आरक्ष कार्यालयका अनुसार वास्तविकता फरक रहेको छ — फेला परेको जनावर पाटे होइन, ‘निगाले बाघ’को बच्चा हो ।

मंगलबार साँझ करिब साढे ७ बजे धरान उपमहानगरपालिका–१४ हात्तीसार क्षेत्र नजिक स्थानीय युवाहरूले बाटोमा अलमलिएको अवस्थामा उक्त जनावर फेला पारेका थिए । धरान–१६ का १८ वर्षीय युसन राई, १८ वर्षीय सिमन राई र धरान–१३ का १७ वर्षीय अमन लिम्बूले जनावर नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय धरानमा बुझाएका थिए ।

इलाका प्रहरी कार्यालय धरानका डीएसपी भीषणबाबु राईका अनुसार, “स्थानीयले नियन्त्रणमा लिएर प्रहरीमा बुझाएपछि हामीले राति नै वन कार्यालयलाई हस्तान्तरण गरेका थियौं । सुरुमा बाघको बच्चा भन्ने अनुमान गरिएको थियो,” उनले भने ।

तर वन रक्षक लालबहादुर श्रेष्ठले त्यसको प्रजाति पुष्टि गर्दै भने, “फेला परेको जनावर ‘निगाले बाघ’ हो, जुन बिरालो परिवारकै एक दुर्लभ प्रजाति हो । आकारमा सानो भए पनि देख्दा बाघजस्तो लाग्ने भएकाले मानिसहरूले भ्रम पाएका हुन् ।”

श्रेष्ठका अनुसार यो प्रजाति प्रायः सुनसरीको रामधुनी क्षेत्र वरिपरि पाइने भएकाले सम्भवतः त्यहीँबाट डुल्दै धरानसम्म पुगेको अनुमान गरिएको छ । फेला परेको जनावर पोथी निगाले बाघको बच्चा भएको र यसको तौल करिब डेढ किलो रहेको उनले जानकारी दिए ।

“संरक्षणका लागि यो जनावरलाई निकुञ्जमा पठाउने कि वन क्षेत्रमा पुनः छाड्ने भन्नेबारे अहिले छलफल भइरहेको छ,” श्रेष्ठले थपे ।

निगाले बाघ नेपालमा पाइने वन्यजन्तु संरक्षण ऐन, २०२९ अन्तर्गत सूचीबद्ध संरक्षित जनावर हो । यो बाघभन्दा सानो भए पनि बनोट र चालढालका कारण धेरैले यसलाई ‘पाटे बाघ’ भनेर भ्रममा पर्ने गरेको कोशी टप्पु वन्यजन्तु आरक्षका बरिस्ठ संरक्षण अधिकृत उपेन्द्र यादवले जानकारी दिनु भएको छ !

तपाईको प्रतिक्रिया