सुनसरी / सुनसरीको दक्षिणी हरिनगर गाउँपालिका–२, रामनगर भुटाहामा आइतबार राति दुई समूहबीच भएको झडपपछि सुरक्षात्मक तयारी कडा पारिएको छ। सम्भावित हिंसा रोक्न नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीले संयुक्त रूपमा गस्ती थालेका छन्।

स्थानीय अनुसार, डाइस खेल्ने क्रममा भएको विवाद ले रूप लिँदै झडपमा परिणत भएपछि ११ जना घाइते भएका थिए। घाइतेमध्ये केहीलाई विराटनगरस्थित नोबेल र गोल्डेन अस्पतालमा उपचारका लागि पठाइएको छ भने बाँकीको उपचार हरिनगर स्वास्थ्य चौकीमा भइरहेको प्रहरीले जनाएको छ।

घटनापछि क्षेत्रलाई तनावमुक्त बनाउन संयुक्त सुरक्षा फौज परिचालन गरिएको सुनसरीका प्रहरी प्रमुख एसपी केशवकुमार थेबे ले बताए। उनका अनुसार, “स्थिति नियन्त्रणमा छ र अब परिस्थिति सामान्य बनाउन संयुक्त गस्तीलाई नियमित रूपमा सञ्चालन गरिएको छ।”

सुरक्षा निकायले जेन्जी आन्दोलनपछि जिल्लाका संवेदनशील क्षेत्रमा नियमित संयुक्त गस्ती गर्दै आएको जनाउँदै, भुटाहामा पनि हिंसा पुनः नदोहरियोस् भन्ने उद्देश्यले सेना समेत परिचालन गरिएको जनाएको छ।

प्रहरीले घटनामा संलग्न रहेको आशंकामा एक युवकलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको जनाएको छ।
घाइतेहरूमा २६ वर्षीय चन्दन सदा, ५० वर्षीय पचुवा मलाहा सदा, ४० वर्षीय राजु दास, २५ वर्षीय राजा सिद्दिकी, २० वर्षीय सोहेल अन्सारी, २४ वर्षीय साजिर सिद्दिकी, ५२ वर्षीय अजमल हुसेन र २३ वर्षीय फैजान अन्सारी रहेका छन्।

सुरक्षा स्रोतका अनुसार अहिले भुटाहा बजार क्षेत्रमा सेनासहितको संयुक्त गस्ती निरन्तर सञ्चालनमा छ र स्थिति क्रमशः सामान्य बन्दै गएको छ

तपाईको प्रतिक्रिया