धरान । सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले ड्युटी समयमा निजी क्लिनिक सञ्चालन गर्दै आएका तीन चिकित्सकसँग स्पष्टीकरण माग गरेको छ।

प्रतिष्ठानका रजिस्ट्रार डा। सूर्यप्रसाद संग्रौलाले मेडिसिन विभागका प्रमुख डा। रविन मास्केसहित डा। अभिनास राई र डा। रञ्जित दासलाई तीन दिनभित्र लिखित स्पष्टीकरण पेश गर्न निर्देशन दिएका हुन्।

‘तीन दिनभित्र स्पष्टीकरण नआए कानुन अनुसार कारबाही हुनेछ। नियम विपरीत काम गर्ने कसैलाई छुट दिइँदैन,’ रजिस्ट्रार संग्रौलाले बताए।

पूर्णकालीन सेवामा रहेर पनि डा। मास्केले धरान–१८, बुद्धचोकस्थित एमसी क्याफे माथिल्लो तलामा ‘तिरुपति रिसर्च एण्ड डायग्नोस्टिक सेन्टर’ सञ्चालन गर्दै आएको पाइएको छ। उक्त क्लिनिकमा उनीसँगै डा। राई र डा। दास पनि संलग्न रहेको प्रतिष्ठानले जनाएको छ।

बिरामीहरूले डा। मास्केमाथि बीपीमा उपचारका लागि आएका बिरामीलाई आफ्नै क्लिनिकमा बोलाउने, त्यहाँ उपचार गर्ने र औषधि तथा ल्याब परीक्षणका लागि त्यहीँ पठाउने गरेको गुनासो गर्दै आएका छन्।

उदयपुर रामपुरकी भगवती कार्कीले थाइराइड रोगको फलोअपका क्रममा बीपीमा डाक्टर भेट्न नसकेपछि डा। मास्केको सिफारिसमा क्लिनिकमा गएको बताइन्। ‘बीपीमा जस्तो लामो लाइन बस्न नपर्ने भएकाले क्लिनिकमै सहज उपचार पाइन्छ,’ कार्कीको भनाइ छ।

बीपी स्रोतका अनुसार डा। मास्के बिहान करिब १० देखि ११ बजेसम्म मात्रै प्रतिष्ठानमा देखापर्ने र त्यसपछि ड्युटी अवधिमै क्लिनिक पुग्ने गरेका थिए।

बीपी प्रतिष्ठानको नियमावली २०५५ अनुसार, कुनै पनि शिक्षक वा कर्मचारीले कार्यालय सम्बन्धित काम बाहेक निजी प्राक्टिस, ट्युसन वा वैतनिक–अवैतनिक काम गर्न पाउँदैन।

गेटदेखि करिब २०० मिटर दूरीमै क्लिनिक सञ्चालन भइरहे पनि यसअघि कुनै कारबाही नभएको जनाइएको छ। रजिस्ट्रार संग्रौलाका अनुसार, यदि डा। मास्केले मङ्गलबारभित्र स्पष्टीकरण नदिए कानुनबमोजिम विभागीय कारबाही प्रक्रिया अघि बढाइनेछ।

तपाईको प्रतिक्रिया