इटहरी /इटहरी उपमहानगरपालिका–४ पानधारेस्थित भित्री सडकमा शनिवार बेलुका पार्किङ गर्न खोजिएको ईभी गाडीको ठक्करबाट एक महिलाको ज्यान गएको छ भने अर्की महिला घाइते भएकी छन्।
प्रहरीका अनुसार, घरमा पार्किङ गर्न खोजिँदै गरेको प्रदेश–१–०२–००१ ज ४५३३ नम्बरको ईभी गाडी घरअगाडि बसिरहेकी महिलाहरूलाई ठक्कर दिँदा दुर्घटना भएको हो।
ठक्करबाट ४५ वर्षीया शान्तीदेवी साह गम्भीर घाइते भइ विराटनगरस्थित नोबेल मेडिकल कलेजमा उपचारका लागि पठाइएकी थिइन्। तर, उपचारका क्रममा राति करिब १०:४५ बजे उनको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ।
यसै दुर्घटनामा २६ वर्षीया राधिका साह घाइते भइ बायाँ खुट्टा फ्याक्चर भएकी छन्। उनको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।
दुर्घटनापछि गाडी चालक करिब ५० वर्षीय मुरली मानन्धर फरार रहेका छन्। उनीमाथि अनुसन्धानका लागि प्रहरीद्वारा खोजतलास तीव्र पारिएको इटहरी इलाका प्रहरी कार्यालयले जानकारी दिएको छ। सो गाडीलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको छ।
प्रहरीका अनुसार, घटना कसरी घट्यो भन्ने विषयमा प्रारम्भिक विवरण संकलन भइरहेको र विस्तृत अनुसन्धानपछि मात्र वास्तविक कारण सार्वजनिक गरिने बताइएको छ !






