काठमाडौं । राजतन्त्र पुनःस्थापनाको नारा लिएर गत चैत १५ गते तीनकुनेमा हिंसात्मक प्रदर्शन सञ्चालन गरेको दुर्गा प्रसाईँ समूह फेरि सक्रिय बन्दै गएको सुराकीका बीच उनीहरू हाल उच्च सुरक्षा निगरानीमा परेका छन्।

सुरक्षा निकायहरू — गृह मन्त्रालय, राष्ट्रिय अनुसन्धान विभाग, नेपाल प्रहरी र सशस्त्र प्रहरी — सबै संयन्त्र अहिले प्रसाईँ समूह र उनका नजिकका सहयोगीहरूको गतिविधि सूक्ष्म रूपमा अध्ययन र अनुगमन गरिरहेका छन्।

🔹 आन्दोलनको तयारी र सुरक्षा सतर्कता

छठ पर्व सकिएलगत्तै आन्दोलन गर्ने प्रसाईँको संकेत सार्वजनिक भएपछि सुरक्षा निकायहरू पूर्ण तयारीमा जुटेका छन्।
स्रोतका अनुसार, चैत १५ र भदौ २३–२४ का हिंसात्मक प्रदर्शन दोहोरिन नदिन सुरक्षाले आन्दोलनमा संलग्न सबै व्यक्ति र समूहहरूको प्रोफाइल अद्यावधिक गर्न सुरु गरेको छ।

प्रसाईँले सामाजिक सञ्जाल, टेलिभिजन र युट्युब च्यानलमार्फत “छठपछि देश ठप्प पार्ने” दाबी गर्दै समर्थकहरूलाई आवश्यक सामग्री जोहो गर्न आह्वान गरिरहेका छन्।
त्यसै सन्दर्भमा पत्रकार र अधिवक्ताबाट राजतन्त्र समर्थक प्रचारमा सक्रिय स्वागत नेपाल पनि प्रसाईँ समूहसँग मिलेर “व्यवस्था परिवर्तनका लागि आन्दोलन” तयारीमा रहेको बताइन्छ।

🔹 राइड–सेयरिङ समूह प्रसाईँको ‘जनशक्ति बैंक’

सुरक्षा निकायका अनुसार, प्रसाईँले आफ्नो आन्दोलनका लागि पठाओ र इनड्राइभमा संलग्न करिब दुई हजार चालकहरूलाई आर्थिक प्रलोभन दिएर प्रयोग गर्दै आएका छन्।
गत आन्दोलनमा संलग्न ती व्यक्तिहरूको विवरण अहिले फेरि संकलन हुँदैछ।

🔹 राजावादी समूहमाथि पनि निगरानी

राप्रपा, राप्रपा नेपालसँगै राजतन्त्र समर्थक नेताहरू — धवलशमशेर राणा, रवीन्द्र मिश्र, खु्स्बु ओली लगायतका गतिविधि पनि गुप्तचर निकायको निगरानीमा परेको स्रोतको दाबी छ।
चैत १५ को आन्दोलनमा संलग्न भई धरौटीमा रिहा भएका व्यक्तिहरूमाथि पनि कडा निगरानी जारी गरिएको छ।

गृहस्रोतका अनुसार, अघिल्ला आन्दोलनहरूमा खुफिया सूचना र रणनीति निर्माणमा कमजोरी देखिएकोले यसपटक सुरुवाती चरणदेखि नै सूचना संकलन, निगरानी र प्रतिव्यवस्था निर्माण थालिएको छ।

🔹 युट्युब र टेलिभिजन : प्रसाईँको प्रचार हतियार

प्रसाईँले आफ्ना राजनीतिक एजेन्डा र अराजक अभिव्यक्तिहरू विस्तार गर्न केही युट्युबर र टेलिभिजन च्यानललाई प्रयोग गर्ने गरेका छन्।
संवेदनशील समयमा अन्तर्वार्ताको आवरणमा राज्यविरोधी भ्रम फैलाउने र जनतालाई उत्तेजित गर्ने यस्ता सञ्चारकर्मीहरू हाल खुफिया निकायको सूचिमा परेका छन्।

गत चैत १५ को आन्दोलनका बेला प्रसाईँसँगै रहेर लाइभ प्रसारण गरेका ‘नेपाल पुकार’का प्रकाशचन्द्र दाहाल पक्राउ परेका थिए। उनीमाथि राज्यविरुद्धको अपराध, आपराधिक उपद्रवलगायतका छ अभियोग दर्ता भएका थिए।

त्यसयता, प्रसाईँले जब–जब अराजक अभिव्यक्ति दिन्छन्, त्यतिबेला केही युट्युब च्यानल र टक शोहरूले निरन्तर अन्तर्वार्ता प्रसारण गर्दै उनको एजेन्डा प्रवर्द्धन गर्ने गरेको पाइएको छ।

तपाईको प्रतिक्रिया