
सर्पको टोकाइले हत्ती जस्ता विशाल जनावर पनि केही घण्टामै ढल्न सक्छ। तर प्रकृतिको आश्चर्यजनक नियम अनुसार एउटा यस्तो जनावर छ, जसलाई विषालु सर्पले डसे पनि मर्न सक्दैन — त्यो हो घोडा।
विज्ञान अनुसार किङ कोब्रा वा गोमनजस्ता अत्यन्त विषालु सर्पले घोडालाई डस्दा पनि ऊ मर्दैन, केवल केही दिन अलिक बिरामी भएर फेरि ठिक हुन्छ। यही घोडाको विष–प्रतिरोधी क्षमता नै मान्छेको जीवनरक्षक औषधी बन्ने मुख्य आधार बनेको छ।
सर्पदंश उपचारमा प्रयोग हुने औषधी ‘एन्टीभेनम’ (Antivenom) घोडाको रगतबाट तयार गरिन्छ। यसको प्रक्रिया निकै वैज्ञानिक हुन्छ —
पहिले विषालु सर्पबाट विष संकलन गरिन्छ र त्यो विषको अत्यन्त सानो मात्रा सुईमार्फत घोडाको शरीरमा हालिन्छ। घोडाको प्रतिरोधात्मक प्रणालीले त्यस विषविरुद्ध एन्टीबडी (Antibody) उत्पादन गर्छ, जसले विषलाई निष्क्रिय बनाउँछ।
केही दिनपछि घोडाको रगत निकालेर त्यसबाट ‘रेड सेल्स’ हटाइन्छ र बाँकी रहेको ‘प्लाज्मा’लाई विशेष प्रक्रिया मार्फत प्रशोधन गरेर एन्टीभेनम तयार गरिन्छ। यही औषधी सर्पले टोकेका मानिसलाई सुईमार्फत दिइँदा शरीरभित्रको विष निष्क्रिय भई जीवन बचाउन मद्दत गर्छ।
भारतमा हाल सयौं घोडा यस्ता एन्टीभेनम उत्पादनका लागि पालन गरिन्छन्। ती घोडाको स्वास्थ्य र सुरक्षा विशेष ध्यानमा राखेर हेचाह गरिन्छ।
विज्ञान र प्रकृतिको यही अद्भुत संयोजनका कारण, घोडाको शरीरमा उत्पन्न हुने एन्टीबडीहरूले हजारौं मानिसको ज्यान हरेक वर्ष बचाइरहेका छन्। साभार : नेशनल ज्योग्राफिक





