काठमाडौं । स्वास्थ्य मन्त्रालयमा कार्यरत एक वरिष्ठ अधिकृतले आफ्नो बिरुद्ध नियोजित षड्यंत्र र ‘पेड मिडिया ट्रायल’ सञ्चालन गरिएको भन्दै गम्भीर आरोप लगाएकी छन्। उनले भनिन् — “मैले बिराएकी होइन, म डराएकी पनि होइन। सत्यका लागि म कानुनी बाटोबाट अन्तिमसम्म लड्नेछु।”
२०७० सालमा खुला प्रतिस्पर्धाबाट स्वास्थ्य मन्त्रालयको उच्च तहमा प्रवेश गरेकी ती अधिकृतले आफू सीमांतकृत समुदायकी महिला भएको कारण शुरु देखिनै स्थायी सत्ता, कर्मचारी र दलाल–बिचौलियाको नेटवर्कलाई नपचेको बताइन्। “माथि तथ्यहीन आरोप, मुद्दा मामिला र चरित्र हत्या गर्ने प्रयास निरन्तर भए, तर म प्रत्येकपटक निर्दोष सावित भएँ,” उनले भनिन्।
उनका अनुसार स्वास्थ्य क्षेत्रमा व्याप्त नीतिगत भ्रष्टाचार, राजनीतिक हस्तक्षेप र केही INGO हरुको मनोमानी विरुद्ध निरन्तर बोल्दै आएकी कारण उनी शक्तिशाली समूहको निशानामा परेकी हुन्। “केही पूर्व स्वास्थ्य मन्त्री, भ्रष्ट कर्मचारी र नेपाल मेडिकल एसोसिएसनका पदाधिकारीहरूले मेरो क्यारियर समाप्त पार्ने योजना बनाइरहेका थिए,” उनले आरोप लगाइन्।
“प्रदीप पौडेलको दबाबमा हटाइएँ”
पूर्व मन्त्री प्रदीप पौडेलको कार्यकालमा आफूलाई गैरकानूनी र अपमानजनक रूपमा महानिर्देशक पदबाट हटाइएको उनले दाबी गरिन्। उनका अनुसार—
“म महानिर्देशक हुँदा स्वास्थ्य सेवा विभाग र मन्त्रालयमा अड्डा जमाएर गगन थापा, प्रदीप पौडेल आदिको संरक्षणमा भ्रष्टाचार गर्नेहरूको रजगज तोड्ने प्रयास गरेँ, त्यसकै प्रतिशोधस्वरूप मलाई हटाइयो।”
त्यसपछि सचिव पदोन्नतिमा समेत पौडेलले ‘Acceptance Rate’ भन्ने गैरकानूनी माग राखेको र त्यो नपूर्याएको कारण मन्त्रिपरिषद्मा योग्यता क्रममा पहिलो नम्बरमा हुँदाहुँदै पनि आफूलाई रोकिएको उनको भनाइ छ। उनले उक्त विषयमा सर्वोच्च अदालतमा मुद्दा दायर गरिसकेकी छन्।
“मन्त्री बन्ने रातमै षड्यंत्र सुरु भयो”
उनले खुलासा गरेकी छन् कि हालै नयाँ सरकार गठनको क्रममा एक वरिष्ठ मन्त्रीमार्फत आफूलाई स्वास्थ्य मन्त्री बन्न प्रस्ताव आएको थियो। “मिति असोज ५ गते मन्त्री सिफारिस भएको रातमै मेरो नागरिकता र एउटा उजुरीलाई आधार बनाएर पेड मिडिया ट्रायल सुरु गरियो, जसका कारण मेरो शपथग्रहण रोकियो,” उनले बताइन्।
उनका अनुसार, प्रदीप पौडेल र नेपाल मेडिकल एसोसिएसनका केही पदाधिकारीहरूले राष्ट्रपति कार्यालयमा शपथ स्थगित गराउन भौतिक रूपमा समेत दबाब दिएका थिए। “यो सबैको कारण मन्त्रालयमा उनीहरूले नियतवश राखेको बजेट र स्वार्थ समूहसँगको साँठगाँठ थियो,” उनले आरोप गरिन्।
“म न्याय प्रणालीमा विश्वास गर्छु”
अधिकृतले स्वास्थ्य सेवा विभाग अन्तर्गत भइरहेको नियमित खरिद प्रक्रियामाथि भइरहेको अनुसन्धान आफ्नो जिम्मेवारीमा पर्नु स्वाभाविक भएको बताउँदै भनिन्—
“म आफ्नो नैतिक धरातलप्रति सजग छु। यो प्रायोजित षड्यंत्रले मेरो आत्मबल झनै बढाएको छ। छिट्टै मन्त्रालयभित्रका स्वार्थ समूह र अभियोजनका अनियमित गतिविधि उजागर गर्नेछु।”
उनी भन्छिन् — “म देशको न्याय प्रणालीप्रति गहिरो विश्वास राख्छु। सत्यको जित हुनेछ र त्यो अदालतले नै प्रमाणित गर्नेछ।”
अन्त्यमा उनले सीमांतकृत वर्ग र महिलाको आवाज दबाउने षड्यंत्र प्रति सरकार, राजनीतिक दल र जेन जी समूहहरूलाई संवेदनशील हुन आग्रह गरेकी छन !





