इटहरी , ३ कार्तिक २०८२ (सोमबार) –नेकपा (माओवादी केन्द्र)का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’की छोरी गंगा दाहालले संयोजकको सचिवालयबाट राजीनामा दिएकी छन्। उनले आइतबार साँझ सामाजिक सञ्जालमार्फत् एक विज्ञप्ति जारी गर्दै राजीनामाको घोषणा गरेकी हुन्।
गंगाले पछिल्ला दिनहरूमा आफूविरुद्ध विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमा चलाइएका भ्रामक र चरित्रहत्या गर्ने अभियानप्रति गम्भीर आपत्ति जनाउँदै सोही कारण सचिवालयको जिम्मेवारी त्याग्ने निर्णय गरेकी हुन्।
“म बुवा कमरेड प्रचण्डको सचिवालयमा दिवङ्गत दाजु प्रकाश दाहालको निधनपछि पार्टीको निर्णयअनुसार जिम्मेवारी लिएर आएकी थिएँ,” विज्ञप्तिमा उनले लेखेकी छन्, “मम्मी सीता दाहाल बिरामी हुनुहुन्थ्यो, त्यसैले हेरचाहसँगै सचिवालयमा बसेर सकेसम्म निस्वार्थ भावले काम गरेँ।”
गंगाले सचिवालयमा रहँदा सबैको चाहनाअनुसार काम गर्न नसकिएको स्वीकार गर्दै आत्मआलोचना समेत गरेकी छन्। उनका अनुसार, आफूले व्यक्तिगत स्वार्थका लागि कहिल्यै काम नगरे पनि विवादमा पर्नु भाग्यमै पर्यो।
“जति विवादरहित भएर काम गर्न खोजे पनि विवादमा त पर्नैपर्ने रहेछ,” उनले भनिन्, “तर म गर्वका साथ भन्छु, मैले कहिल्यै व्यक्तिगत लाभका लागि कुनै काम गरेकी छैन।”
सामाजिक सञ्जालमा भइरहेको गलत प्रचारप्रति उनले तीव्र असन्तुष्टि जनाएकी छन्।
“कहिले लाखौंको ब्याग भनिन्छ, कहिले महँगो घडी। यस्ता कुनै वस्तु मैले किनिनँ। साथीहरूले दिएको जन्मदिनको उपहार थियो, त्यो पनि अहिले जलेर खरानी भइसकेको छ। तर अझै पनि त्यही कुरा दोहोर्याएर प्रहार गरिन्छ,” उनले स्पष्ट पारिन्।
गंगाले आफूलाई नियोजित रूपमा देखाएर माओवादी केन्द्र र संयोजक प्रचण्डविरुद्ध दुष्प्रचार गर्ने प्रयास भइरहेको आरोप लगाउँदै त्यसको विरोधस्वरूप सचिवालयबाट राजीनामा दिएको बताएकी छन्।
“संयोजक र पार्टीविरुद्ध भइरहेका योजनाबद्ध प्रहारका कारण मैले सचिवालयबाट राजीनामा दिएकी हुँ,” उनले लेखेकी छन्, “तर म पार्टीकी जिम्मेवार कार्यकर्ता भएकाले आजीवन रूपमा पार्टीमा सक्रिय रहनेछु।”
राजीनामा घोषणासँगै गंगाले सचिवालयमा रहँदा सहयोग गर्ने सबै पार्टी नेता, कार्यकर्ता तथा आम नागरिकप्रति आभार व्यक्त गरेकी छन्। गंगा दाहालको राजीनामा माओवादी केन्द्रभित्रको आन्तरिक संवेदनशीलता, पारिवारिक जिम्मेवारी र सामाजिक सञ्जालमा बढ्दो आरोप–प्रत्यारोपबीच आएको हो। उनी भने अझै पनि पार्टीप्रति निष्ठावान रहँदै काम गर्न तत्पर छन्।





