
काठमाडौं — जेन-जि आन्दोलनपछिका राजनीतिक घटनाक्रमपछि भूमिगत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा ३४ दिनपछि अन्ततः सार्वजनिक हुने भएका छन्। देउवा आज (मङ्गलबार) पार्टीको केन्द्रीय कार्यसमिति बैठकमा सहभागी हुँदै सार्वजनिक हुने भएका हुन्।
बैठक दिउँसो एक बजे कांग्रेस केन्द्रीय कार्यालय सानेपामा बस्ने तय गरिएको छ। उक्त बैठकमा केन्द्रीय पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य तथा सातै प्रदेश कार्यसमितिका सभापतिहरू सहभागी हुनेछन्।
भदौ २४ गते जेन-जि आन्दोलनको क्रममा देउवा दम्पतीमाथि भएको कुटपिटपछिका घटनाबारे विभिन्न अड्कलबाजी भइरहेका थिए। कुटपिटपछि उपचारमा रहेका देउवा र उनकी पत्नी आरजु राणाले केही समय आफन्तकोमा बसेको र पछिल्लो समयमा महाराजगञ्जस्थित एक भाइको घरमा रहेकाे बताइएको थियो।
तर आन्दोलनपछिका ३४ दिनसम्म देउवा सार्वजनिक रूपमा देखिएका थिएनन्। आजको केन्द्रीय कार्यसमिति बैठकमा उनको उपस्थितिले देउवा पुनः सक्रिय राजनीतिक जीवनमा फर्किन लागेको संकेत मिलेको विश्लेषकहरूले बताएका छन्।
नेपाल कांग्रेसका नेताहरूले देउवाको सार्वजनिक उपस्थितिलाई पार्टीभित्रको संगठन सुदृढीकरण र आगामी निर्वाचन तयारीका लागि महत्वपूर्ण मोडको रूपमा हेरेका छन्।




