इटहरी , असोज २३ । माइतीघरमा बिहीबार दिउँसो प्रदर्शन गर्ने क्रममा पक्राउ परेका अभियान्ता निकोलस भुसाललाई सुधार केन्द्र पठाइएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईका अनुसार प्रहरी हिरासतपछि गरिएको मेडिकल परीक्षणमा निकोलसले लागूऔषध (गाँजा) सेवन गरेको पुष्टि भएको हो।

भट्टराईले भने,

“उहाँको एक वर्षअघि पनि पक्राउ पर्दा यही रिपोर्ट आएको थियो। अहिले पनि परीक्षणमा उस्तै नतिजा आएकोले सुधार केन्द्र पठाइएको हो।”

उनका अनुसार भुसाललाई उनका दाजुको जिम्मा लगाएर सुधार केन्द्र पठाइएको छ।

निकोलस भुसालसहित प्रहरीले थप दुई जना व्यक्तिलाई पनि पक्राउ गरेको थियो। ती सबैलाई हाल आवश्यक प्रक्रिया पूरा गरी सम्बन्धित निकायमा बुझाइएको बताइएको छ।

निकोलस पछिल्लो समय विभिन्न सामाजिक तथा राजनीतिक आन्दोलनमा सक्रिय अभियान्ताका रूपमा चर्चित छन्। माइतीघर मण्डलामा भएको प्रदर्शनका क्रममा उनलाई प्रहरीले नियन्त्रणमा लिएको थियो।

निकोलस भुसालले गत वर्ष पनि समान आरोपमा पक्राउ परेका थिए। प्रहरीका अनुसार उनले निरन्तर आन्दोलन, अभियान र सडक प्रदर्शनमा सक्रियता जनाउँदै आएका छन्।

यसपटक पनि माइतीघर क्षेत्रमा भएको प्रदर्शनको क्रममा प्रहरीले उनलाई नियन्त्रणमा लिएर मेडिकल परीक्षणका लागि पठाएको थियो। रिपोर्ट आएपछि उनलाई सुधार केन्द्रमा पठाउने निर्णय गरिएको हो।

तपाईको प्रतिक्रिया