इटहरी /बंगालको खाडीबाट आएको जलवाष्पयुक्त मनसुनी वायुको प्रभाव अझै कायम रहे पनि काठमाडौं उपत्यकामा ठूलो वर्षाको जोखिम अब टरेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
विभागका वरिष्ठ मौसमविद् मीन कुमार अर्यालका अनुसार उपत्यकासहित बागमती प्रदेशमा प्रभाव पार्ने प्रणाली अहिले कमजोर भइसकेको छ। उनले भने, ‘काठमाडौं उपत्यकासहित बागमती प्रदेशमा सिस्टम कमजोर भइसकेको छ र ठूलो पानी पर्ने संकट अब टरेको छ।’
तर, उक्त प्रणाली कोशी प्रदेशतिर सरेको हुँदा त्यहाँ वर्षाको जोखिम बढेको उनले बताए। उनका अनुसार पाँचथर, इलाम, झापा हुँदै चतरासम्मका भूभागमा अहिले पनि भारीदेखि धेरै भारी वर्षा भइरहेको छ।
अर्यालले थपे, ‘आज इलामदेखि कोशी प्रदेशको तराई क्षेत्रमा आइसोलेटेड रूपमा भारी वर्षाको सम्भावना देखिन्छ, तर दिउँसोपछि यो पनि क्रमशः कमजोर हुँदै जानेछ।’
मधेश प्रदेशमा पनि केही स्थानमा पानी पार्ने बादल देखिए पनि हिजोको जस्तो ठूलो वर्षा हुने सम्भावना अब घटेको छ।
विभागका तथ्यांकअनुसार, गत २४ घण्टामा कोशी, मधेश र बागमती प्रदेशका धेरै स्थानमा भारीदेखि अति भारी वर्षा भएको छ। तीमध्ये सबैभन्दा बढी वर्षा रौतहटको महेशपुर केन्द्रमा ३५१ मिलिमिटर मापन गरिएको छ।
मौसमविद्हरूले सावधानी अपनाउन आग्रह गर्दै भनेका छन्— मनसुनको अन्तिम चरणमा पुगेकाले अझै केही दिन स्थानीय स्तरमा वर्षा हुनसक्ने सम्भावना छ।





