इटहरी । अविरल वर्षाका कारण देशका विभिन्न भूभागमा दैनिक जनजीवन प्रभावित भइरहेका बेला सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नागरिकलाई आकस्मिक सम्पर्क नम्बर सार्वजनिक गरेको छ।
मन्त्रालयले शनिबार जारी गरेको विज्ञप्तिमा कुनै क्षेत्रमा सञ्चार सेवा अवरुद्ध भएमा वा आकस्मिक सूचना प्रवाह गर्न आवश्यक परेमा तुरुन्त सम्पर्क गर्न आग्रह गरिएको छ।
यसका लागि निम्न नम्बरहरू प्रयोग गर्न सकिनेछः
- नेपाल टेलिकम : १४९८
- एनसेल : ९००५
- नेपाल दूरसञ्चार प्राधिकरण : ९८५१०८७४३२, ९८४१३७६२०३
- सञ्चार मन्त्रालय : ९८४९०५३६६३, ९८४१५२०११५
मन्त्रालयले मन्त्रालयका अधिकारी, दूरसञ्चार सेवा प्रदायक र नेपाल दूरसञ्चार प्राधिकरणका प्रतिनिधिबीच शनिबार सम्पन्न छलफलका आधारमा विपद्को घडीमा सञ्चार साधनलाई निरन्तर सञ्चालनमा राख्न र नागरिकलाई आवश्यक सूचना प्रभावकारी ढंगले प्रवाह गर्न थप तदारूकता अपनाइने जनाएको छ।
विज्ञप्तिमा भनिएको छ, “जल तथा मौसम विज्ञान विभागको पूर्वानुमानअनुसार अझै तीन दिनसम्म भारी वर्षा जारी रहने देखिन्छ। यस्तो अवस्थामा नागरिकको जीवन रक्षा र जनधनको क्षति रोक्न सबै पक्ष सजग र सक्रिय रहन अपरिहार्य छ।”
सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलको उपस्थितिमा सम्पन्न छलफलले संकटपूर्ण अवस्थामा सञ्चार अवरुद्ध हुन नदिन र नागरिकलाई सही सूचना समयमै उपलब्ध गराउन ठोस कदम चाल्ने निर्णय गरेको मन्त्रालयले जनाएको छ।





