मोरङ । जल तथा मौसम विज्ञान विभागले असोज १७ देखि २० गतेसम्म व्यापक वर्षा हुने चेतावनी दिएपछि मोरङमा विपद् व्यवस्थापन सतर्कता बढाइएको छ। केशलिया, सिंगिया र दरैया खोला आसपासका बस्तीमा माइकिङमार्फत सचेतना गराउने निर्णय गरिएको छ।

प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार आवश्यकता परे स्थानान्तरण गर्न तयारी गरिएको छ, साथै जोखिमलाई ध्यानमा राखी जिल्लाबाट बाहिर जाने लामो दूरीका रात्रीकालीन बस सेवा पनि स्थगित गर्ने विचार गरिएको छ।

विपद् व्यवस्थापन योजनाअनुसार सबै स्थानीय तह सक्रिय रहनेछन्। नेपाली सेनाको टोलीसहित हेलिकप्टर तयारी अवस्थामा राखिएको छ भने प्रहरीले आपत्कालीन सम्पर्कका लागि टोल(फ्री नम्बरहरू सार्वजनिक गरेको छ।

अस्पताल, स्वास्थ्य संस्था, स्वयंसेवक, गैरसरकारी संस्था र निजी संघसंस्थालाई उद्धार र आपतकालीन प्रतिकार्यका लागि तयारी अवस्थामा रहन आग्रह गरिएको छ।

तपाईको प्रतिक्रिया