
सुनसरी / प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्रश्राद्ध (पितृ पक्ष) आजदेखि देशभर विधिपूर्वक प्रारम्भ भएको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले प्रकाशित गरेको पात्रोअनुसार आज प्रतिपदा तिथि श्राद्ध सम्पन्न गर्नुपर्ने छ । समितिका सदस्य एवं धर्मशास्त्रविद् प्रा.डा. देवमणि भट्टराईका अनुसार प्रतिपदा तिथि श्राद्धको पिण्डदान अपराह्नकालमै सम्पन्न गर्नुपर्ने व्यवस्था छ ।
सोह्रश्राद्धलाई आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्म १६ दिनका तिथिहरूमा दिवंगत पितृलाई तर्पण, सिदादान र पिण्डदानद्वारा सम्झिने वैदिक परम्परा हो । यसलाई अपर पक्ष वा प्रेत पक्ष पनि भनिन्छ ।
धर्मशास्त्रविद्हरूका अनुसार यस अवधिमा पितृहरू आफ्ना वंशधरबाट तर्पण र श्राद्धको अपेक्षा गरी बसेका हुन्छन् भन्ने विश्वास रहिआएको छ । यस कारण पितृ ऋणबाट मुक्त भई दायित्वबोध पूरा गर्नका लागि श्राद्ध गर्नु धार्मिक दृष्टिले अनिवार्य मानिन्छ ।
समिति सदस्य प्रा. टोयराज नेपालका अनुसार, जाताशौच, मृताशौच वा पत्नी रजस्वला भएका अवस्थामा बाहेक सोह्रश्राद्ध नछोड्नुपर्ने शास्त्रीय आदेश छ । अपरिहार्य कारणले रोकिएमा आश्विन कृष्ण औँसीदेखि आश्विन शुक्ल पञ्चमीसम्म, अथवा कार्तिक कृष्ण औँसी (लक्ष्मीपूजाको दिन) वा वृश्चिक सङ्क्रान्तिसम्म पनि वैकल्पिक रूपमा गर्न सकिने व्यवस्था धर्मशास्त्रमा उल्लेख छ ।
श्राद्ध गर्न नसक्ने अवस्थामा ब्राह्मणमार्फत दैनिक १०८ मन्त्रजप १० महिनासम्म गर्न सकिने धार्मिक परम्परा पनि छ, जसबाट पितृलाई तृप्ति प्राप्त हुने विश्वास गरिन्छ ।





