इटहरी /नेकपा एमालेका प्रदेश कमिटी सदस्य तथा कानुन विभाग प्रमुख भीम सुवेदी (सागर) फेरि पुरानै पार्टी माओवादी केन्द्रमा फर्किएका छन्। पार्टीभित्रको आन्तरिक असमझदारी, विचारमा मेल नखानु र संगठनात्मक असन्तुष्टिका कारण उनले एमाले त्याग गरेको बताइएको छ।

सुवेदीले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै भनेका छन्, “विचार, मूल्य र नेतृत्वप्रति विश्वास बोकेर म पुनः माओवादी केन्द्रमै फर्किएको हुँ। संगठनभित्र कुरा नमिलेपछि आफूले नयाँ यात्रा होइन, पुरानै बाटो समाउने निर्णय गरेँ।”

उनको पुनरागमनलाई माओवादी केन्द्रले स्वागत गरेको छ। कोशी प्रदेश सचिवालय सदस्य तथा इटहरी उपमहानगर इञ्चार्ज मदन चुँडालले सामाजिक सञ्जालमार्फत सुवेदीलाई स्वागत गर्दै लेखेका छन्, “पुरानै घरमा फर्किएकोमा हार्दिक बधाई र शुभकामना।”

भीम सुवेदी केही वर्षअघि माओवादी केन्द्र परित्याग गरेर एमाले प्रवेश गरेका थिए। तर पार्टीभित्र बढ्दो किचलो, वैचारिक दूरी र भूमिकामा अस्पष्टताको कारण पुनः माओवादी केन्द्रमा फर्किएको बुझिएको छ।

उनको यो कदमले कोशी प्रदेशको दलीय समीकरणमा थप चर्चा उत्पन्न गराएको छ। सुवेदीजस्ता संगठनात्मक रूपमा सक्रिय व्यक्तित्वको पुनः प्रवेशले माओवादी केन्द्रमा नयाँ उत्साह थपिएको देखिएको छ।

तपाईको प्रतिक्रिया