
सुनसरी / केही सञ्चार माध्यमहरूमा कोशी प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्री सदानन्द मण्डलसंग सम्बन्धित QR कोडसम्बन्धी समाचारप्रति मन्त्रीको सचिवालयले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
सचिवालयद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएअनुसार, समाचारमा उठाइएका कतिपय दाबीहरू एकपक्षीय, अपूर्ण तथा सत्यतथ्यको आधारविहीन रहेको ठहर गरिएको छ। यस्तो प्रकारको पत्रकारिताले मन्त्री मण्डलको व्यक्तिगत छवि, कार्यशैली र राजनीतिक मर्यादामा गम्भीर असर पुर्याउने सम्भावना रहेको भन्दै सचिवालयले गहिरो असन्तुष्टि व्यक्त गरेको हो।
सचिवालयले स्पष्ट पार्दै भनेको छ कि मन्त्री मण्डल कुनै पनि अनाधिकृत आर्थिक लाभ लिने कार्यमा संलग्न छैनन्, न त QR कोडमार्फत रकम संकलन गर्नेजस्ता कुनै क्रियाकलापमा उनको संलग्नता देखिएको छ।
त्यस्तै, कर्मचारी सरुवा प्रक्रिया सम्बन्धमा समेत सचिवालयले प्रष्ट पारेको छ कि ती सबै प्रचलित कानुनी र प्रशासनिक नियमावलीको पालना गर्दै अघि बढाइएको हो।
सचिवालयका अनुसार मन्त्री सदानन्द मण्डलले सधैं पारदर्शिता, सुशासन र जनहितलाई प्राथमिकता दिँदै आएको र संविधानसम्मत मर्यादाभित्र सीमित रही कार्य गर्दै आएका छन्।
पत्रकारिता क्षेत्रको सम्मान गर्दै सचिवालयले विश्वसनीय स्रोतमा आधारित सूचना संकलन, पुष्टि तथा सम्बन्धित पक्षको धारणा समेटिएपछि मात्र समाचार प्रकाशन गर्न अनुरोधसमेत गरेको छ।
सचिवालयले अन्त्यमा जानकारी दिएको छ कि मन्त्री मण्डलले उचित समयमा सम्मानित प्रदेशसभा समक्ष आफ्ना धारणा सार्वजनिक रूपमा प्रस्तुत गर्ने तयारीमा छन्।





