
सुनसरी /सुनसरी जिल्लाको दुहवी नगर पालिका क्षेत्रमा आज एक प्रविधिमैत्री र प्रभावकारी बजार अनुगमन अभियान सञ्चालन गरिएको छ । जिल्ला प्रशासन कार्यालय सुनसरी, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुनसरी र प्रदेश कार्यालय विराटनगरको समन्वयमा दुहवी नगरपालिकाको सहकार्यमा भएको उक्त अभियानले खाद्य सुरक्षालाई प्राथमिकतामा राख्दै उपभोक्ताको स्वास्थ्य संरक्षणतर्फ सशक्त पहल गरेको छ ।
अनुगमन टोलीले फरवार्ड डिपार्टमेन्ट स्टोर, स्थानीय फलफूल तथा तरकारी पसलहरू, किराना पसलहरू, पाउरोटी उद्योग, र दूध डेरीहरूमा निरीक्षण गरेको हो । निरीक्षणको क्रममा विक्रिमा रहेका खाद्य वस्तुहरूमा म्याद सकिएको, लेबल नटाँसिएको, सरसफाइमा लापरबाही गरिएको, तथा संरचनात्मक कमजोरी देखिएको केही सामग्रीको नमूना संकलन गरियो ।
अत्याधुनिक ल्याबसहितको मोबाइल भ्यान प्रयोग
विशेषतया, यस पटकको अनुगमन अभियानमा प्रयोग गरिएको आधुनिक उपकरणयुक्त मोबाइल ल्याब भ्यान नै अभियानको मुख्य आकर्षण रह्यो । उक्त भ्यानमार्फत संकलित संकास्पद खाद्य सामग्रीको तुरुन्तै परीक्षण गरिनुका साथै प्रारम्भिक रिपोर्टहरू पनि साइटमै तयार पारिएका थिए ।
प्राविधिक टोलीले परीक्षणमा प्रयोगशाला स्तरीय उपकरण प्रयोग गरी फर्मालिन, कृत्रिम रंग, रसायनजन्य विषादी, र ब्याक्टेरियाको स्तरजस्ता सूचकहरूमाथि विशेष ध्यान दिएको थियो ।
जिल्ला प्रशासन कार्यालय सुनसरीका प्रशासकीय अधिकृत केशव खतिवडाले अनुगमनपछि बताएअनुसार,“खाद्य सुरक्षामा कुनै किसिमको सम्झौता नगरिने नीति अनुरूप अनुगमनलाई अझ प्रभावकारी बनाइएको हो ।”
उनका अनुसार, परीक्षण प्रतिवेदनको नतिजाका आधारमा जरिवाना वा कानुनी कारवाही प्रक्रियाकालागी दुहवी नगरपालिकालाइ सिफारीस गरिएको छ ।
सुनसरी जिल्लामा प्रारम्भ गरिएको यो प्रविधिमैत्री अनुगमन अभियानलाई क्रमशः इनरुवा, इटहरी, धरान लगायतका अन्य नगर क्षेत्रमा पनि विस्तार गर्ने तयारी गरिएको छ । यस अभियानले स्थानीय व्यापारीलाई स्वच्छ व्यवसाय अभ्यासतर्फ उत्प्रेरित गर्नुका साथै उपभोक्तालाई पनि स्वस्थ जीवनशैलीमा योगदान पु¥याउने अपेक्षा गरिएको छ ।
प्रशासन र खाद्य नियामक निकायहरूले उपभोक्तालाई खाद्य सामग्री खरिद गर्दा म्याद, लेबल, र गुणस्तर प्रमाणपत्र हेर्नु, शङ्कास्पद वस्तु भेटेमा अनुगमन निकायमा जानकारी गराउनु, र नियमित रूपमा उपभोक्ता हकका तालिम र जानकारीमूलक कार्यक्रमहरूमा सहभागिता जनाउनु भनी आग्रह गरेका छन् ।






