इटहरी / रिलायन्स स्पिनिङ मिल्स लिमिटेडले चालु आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमाससम्ममा उल्लेखनीय नाफा कमाएको छ। बुधबार सार्वजनिक भएको वित्तीय विवरण अनुसार कम्पनीले चैत मसान्तसम्ममा ३२ करोड ४२ लाख ९६ हजार रुपैयाँ खुद नाफा कमाएको छ।
यो नाफा अघिल्लो आर्थिक वर्षको कुल नाफा ५ करोड ३ लाख रुपैयाँको तुलनामा साढे ६ गुणा बढी हो। कम्पनीको प्रतिसेयर आम्दानी (EPS) पनि बढ्दै २५ रुपैयाँ ४९ पैसामा पुगेको छ। यसअघि दोस्रो त्रैमासमा EPS २२ रुपैयाँ १९ पैसा र पहिलो त्रैमासमा १९ रुपैयाँ ९५ पैसा थियो, जबकि अघिल्लो वर्षको असार मसान्तसम्म यो मात्र २ रुपैयाँ ९५ पैसा थियो।
कम्पनीले ९ महिनामा ७ अर्ब ३९ करोड १७ लाख ३७ हजार रुपैयाँ बराबरको व्यापार गरेको छ। अघिल्लो आवको असारसम्ममा व्यापार ९ अर्ब २० करोड ६० लाख रुपैयाँ थियो। अन्य आम्दानीतर्फ कम्पनीले ४ करोड २७ हजार रुपैयाँ प्राप्त गरेको छ।
वि.सं. २०५४ मा स्थापना भएको रिलायन्स स्पिनिङ मिल्सले स्थापना कालदेखि अहिलेसम्म ४ हजारभन्दा बढीलाई प्रत्यक्ष रोजगारी दिएको छ। कम्पनी बुक बिल्डिङ विधिबाट प्रारम्भिक सार्वजनिक निष्काशन (IPO) गर्ने तयारीमा पनि रहेको छ।





