इटहरी / खनार युवा क्लबको आयोजनामा इटहरी–१२ स्थित श्री शारदा माध्यमिक विद्यालयको खेलमैदानमा जारी “पहिलो खनार भेट्रान फुटबल प्रतियोगिता २०८१” अन्तर्गत आज सम्पन्न दोस्रो सेमिफाइनल खेलमा मोरङको विराट बुद्ध भेट्रानले उत्कृष्ट प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेको छ।

उर्लावारीको मंगलवारे भेट्रानविरुद्धको प्रतिस्पर्धात्मक खेलमा विराट बुद्धले दुई गोल गर्दै निर्णायक जित निकालेको हो। खेलमा विराट बुद्धका खेलाडीहरूले सुरुदेखि नै आक्रमक खेल देखाएका थिए भने मंगलवारे भेट्रानले कडा प्रतिस्पर्धा गरे तापनि गोल गर्न नसक्दा निराश हुँदै प्रतियोगिताबाट बाहिरिएको छ। आज भएको खेलमा विराट वुद्धका मदन जङ्गराइ म्यान अफद म्याच घोषित भए

प्रतियोगिता चैत ३० गतेसम्म सञ्चालन हुने छ। सुनसरी र मोरङ जिल्लाका आठ वटा भेट्रान टिमहरूको सहभागिता रहेको प्रतियोगिताका विजेताले नगद रु। ५०,००० र उपविजेताले रु। ३०,००० प्राप्त गर्ने क्लब अध्यक्ष नेमलाल चौधरीले जानकारी दिए।

यसैबीच, आयोजकले भोली विशेष मैत्रीपूर्ण महिला फुटबल प्रतियोगिता आयोजना हुने जानकारी गराएको छ। उक्त खेलमा सुनसरी ११ र मोरङ ११ बीच प्रतिस्पर्धा हुने छ, जसले प्रतियोगितामा थप आकर्षण थप्ने अपेक्षा गरिएको छ।

फुटबलप्रेमीहरूको उल्लेख्य उपस्थितिमा चलिरहेको प्रतियोगिता क्षेत्रीय खेलकुद प्रवर्द्धनमा महत्वपूर्ण मानिएको छ।

तपाईको प्रतिक्रिया