
इटहरी / खनार युवा क्लबको आयोजनामा सञ्चालन भइरहेको “पहिलो खनार भेट्रान फुटबल प्रतियोगिता २०८१” अन्तर्गत आज सम्पन्न सेमिफाइनल खेलमा मोरङको सुन्दर भेट्रान विजयी भएको छ । सुन्दर भेट्रानले नेता चौक टाइर भेट्रानलाई २–१ गोल अन्तरले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको हो ।
खेल प्रारम्भदेखि नै आक्रामक रुपमा मैदानमा उत्रिएको सुन्दर भेट्रानका खेलाडीहरूले खेलको सुरुवातमै दबाब सिर्जना गरेका थिए । जर्सी नम्बर १३ का प्रहलाद कार्कीले पहिलो हाफमा नै गोल गर्दै टिमलाई अग्रता दिलाए । उनले खेलको दोस्रो हाफमा पेनाल्टीमार्फत दोस्रो गोल थपे ।
विपक्षी टिम नेता चौक टाइर भने दवावमा रहेपनि जर्सी नम्बर १० का अमित भगतले पहिलो हाफको अन्त्यतिर एक गोल फर्काएका थिए। निर्धारित समयसम्म थप गोल हुन नसक्दा खेल सुन्दर भेट्रानको पक्षमा २–१ मा टुंगिएको हो ।
खेलमा उत्कृष्ट प्रदर्शन गरेका प्रहलाद कार्की ‘म्यान अफ द म्याच’ घोषित भए । तर खेलपछि नेता चौक टाइर टिमले सुन्दर भेट्रानले फरक नामको खेलाडी मैदानमा उतारेको आरोप लगाउँदै प्रतियोगिता आयोजक समितिमा आधिकारिक प्रोटेस्ट निवेदन दर्ता गराएको छ । आयोजक समितिले सो प्रकरणको छानबिनपछि आवश्यक निर्णय लिने जनाएको छ ।
प्रतियोगिता इटहरी–१२ स्थित श्री शारदा माध्यमिक विद्यालयको खेलमैदानमा चैत ३० गतेसम्म सञ्चालन हुनेछ। सुनसरी र मोरङ जिल्लाका आठ वटा भेट्रान टिमहरूको सहभागिता रहेको प्रतियोगिताको विजेताले नगद रु. ५०,००० र उपविजेताले रु. ३०,००० प्राप्त गर्नेछन। क्लब अध्यक्ष नेमलाल चौधरीका अनुसार प्रतियोगिताले स्थानीयस्तरमा भेट्रान खेलाडीहरूको प्रतिभा प्रदर्शन गर्ने उत्कृष्ट अवसर प्रदान गरेको छ ।
भोली हुने दोस्रो सेमी फाइनलमा मोरङ्कको मङ्कलवारे भेट्रान र विराट वुद्ध भेट्रान विच प्रतिस्पर्धा हुने छ ।











