सुनसरी / काठमाडौंलाई पूर्वी नेपालसँग जोड्ने सबैभन्दा छोटो बीपी राजमार्गमा आइतबार दिउँसोदेखि नै दुईतर्फी सवारीसाधन चलिरहेका छन् । बीपी राजमार्गअन्तर्गत काभ्रेको भकुण्डेबेसीदेखि नेपालथोकसम्म विभिन्न ठाउँमा सडक केही अप्ठ्यारो छ ।

रोशी खोलाको बाढीले सडक बगाएको स्थानमा कतै डाइभर्सन बनाइएको छ भने कतै खोला तर्नुपर्ने बाध्यता छ । यद्यपि, तर्नुपर्ने खोला मंगलबारसम्म त्यस्तो जोखिमपूर्ण नरहेको धरान–काठमाडौं चल्ने हायसका चालक सुवास मगरले बताए । उनका अनुसार, दसैँ मानेर काठमाडौं फर्किनेहरू बढ्दै गएकाले सडक बिग्रेको करिब ८ किलोमिटरभित्र बिहान १० बजेपछि दिउँसो ३ बजेसम्म धेरै जाम हुने सम्भावना छ ।

‘उदयपुरको कटारीबाट वा महोत्तरीको बर्दिबासबाट सिन्धुलीको भीमानहुँदै नेपालथोकसम्म सहजै आउन सकिन्छ’, शनिबारयता दुवै रुटबाट यात्रा गरेको बताउने मगरले शिलापत्रसित भने, ‘नेपालथोक र काभ्रेको चौकीडाँडाको बीचमा ८र१० किलोमिटरजति करिब सबै कच्ची छ ।’ असोज दोस्रो साता काभ्रेको भकुण्डेबेसीबाट पूर्व नेपालथोकसम्म विभिन्न ठाउँमा रोशी खोलाले सडक पूर्ण रूपमा बगाएको थियो । करिब दुई साता लगाएर सडक तत्कालका लागि तयार गरिएको छ । केही ठाउँमा सुख्खा पहिरो खस्ने जोखिमसमेत रहेकाले यात्रा गर्दा विशेष सावधानी अपनाउनुपर्ने उनले बताए ।

‘दुईरतीन ठाउँमा खोला तर्नुपर्छ । खोलाको बगरमा बनाइएको कच्ची बाटोमा ढुङ्गा(गिटी, खाल्डाखुल्डी छन्’, मगरले भने, ‘यसबाहेक केही ठाउँमा बाटो चिप्लो छ भने अधिकांश ठाउँमा धुलोयुक्त छ । सडक त जसोतसो काट्न सकिन्छ तर धुलोबाट जोगिने उपाय अपनाएर आउँदा राम्रो हुन्छ ।’ चालक मगरका अनुसार, भकुण्डेबेसीबाट धुलिखेलसम्मको बाटो सहज छ । धुलिखेलदेखि बनेपामा ठाउँ(ठाउँमा सडक भत्केकाले धुलोयुक्त छ । ‘पूर्वबाट काठमाडौं आउँदा वा काठमाडौंबाट पूर्व जाँदा नेपालथोकतिर गएर गाडीमा तेल ९डिजेल, पेट्रोल० हाल्नेचाहिँ नसोच्दा हुन्छ’, उनले भने, ‘१२ असोजको बाढीले त्यहाँ भएको पेट्रोलपम्प बगाइसकेको छ ।’

काभ्रेपलाञ्चोकका सहायक प्रमुख जिल्ला अधिकारी सुवास पौडेलले अवरुद्ध सडकमा शनिबार साँझदेखि नै हायस, कार, मोटरसाइकललगायत सवारीसाधन चलिरहेको जानकारी दिए । काभ्रेतर्फ पर्ने सडक हेर्ने सडक डिभिजन कार्यालय भक्तपुरका प्रमुख सुमन योगेशले शुक्रबार दिउँसो सडक खुलाइएलगत्तै गएको सुख्खा पहिरो पन्छाएसँगै सवारी अवागमन भइरहेको तर सजगताका साथ यात्रा गर्न सुझाव दिए ।

तपाईको प्रतिक्रिया