स्याङ्जा / शाह वंशको कूलदेवता र कूल मन्दिर मानिदैआएको आलमदेबी मन्दिर यहाँको शक्तिपीठमध्ये एक हो । कालीगण्डकी गाउँपालिका(३ मा रहेको वि।स। १३५० सालमा स्थापना भएको यस मन्दिरभित्र ठकुरी महिला बाहेक अन्यलाई प्रेवश अनुमति छैन ।
यहाँ मन्दिर स्थापनाबाट नै १५ वर्षभित्रका चुडाकर्म गरेको राना मगर पूजारी रहने गरेका छन् । आलमदेवीमा राँगो, बाख्राको पाठो, कुखुरा, परेवा र भेँडालाई बलि चढाउने परम्परा रहेका छ । भेँडा उपलब्ध नहुँदा कुभिण्डो प्रयोग गर्ने गरिएको छ ।
३६५ दिन नै पूजा हुने र पूजा हुँदा नगरा बनाउने परम्परा रहेको यस मन्दिरमा एकादशी, औँशी, साउन १ देखि नागपञ्चमी र १६ श्राद्धमा बाहेक अरु सबै दिन बलि चढाउने गरिएको छ ।
नेपालका शक्तिपीठहरुमध्ये बेग्लै विशेषता र पहिचान बोकेको आलमदेवी मन्दिरमा दसैँको नवमीका दिन वर्षभरीकै सबैभन्दा ठूलो विशेष पूजा र सरकारी पञ्चबलि चढाउने प्रचलन रहेको छ । यस मन्दिरमा नवमीको दिन बिहानै डेढ घण्टा लामो यज्ञ र नवदुर्गाको पूजापछि पञ्चबलि दिने गरिएको छ ।
छालाको पेटी, जुत्ता लगाएर भित्र प्रवेश गर्न नहुने इतिहास बोकेको आलमदेबी मन्दिरमा होलिमा रङगरोगन समेत नगरिने मन्दिर समितिका अध्यक्ष प्रिथ थापाले बताउनुभयो ।
धेरै वर्ष पहिला शाह वंशीय राजाहरुले राँगो छोडिदिने र राँगो आफै आलमदेवी आइपुग्ने र स्थानीयले बलि चढाउने गरेको इतिहास रहेको छ । जीवनमा ठूलो संकट आइलागेपछि वा आउने सम्भावना देखेपछि यहाँ आएर आलमदेवीसँग बर मागेपछि संकट मोचन हुने जनविश्वास रहेको छ ।
भारतको चितौरगढका चन्द्र वंशावलीमा भट्टारक राजा ऋषी राणाको राज्यमा मुगलले आक्रमण गरेपछि आलमदेवी अग्लो डाँडोमा आएको किंवदन्ती रहेको छ । चितौरगढबाट आएका राणाहरुले डाँडोमा मन्दिर बनाई मूर्ति राखेको र पछि मूर्ति अलाप भएकाले आलमदेवी नामकरण भएको मानिदै आएको छ ।
पहिला एकै दिनमा हजारौको संख्यामा बलि दिने गरिएकोमा अहिले घट्दै गएको अध्यक्ष थापाले बताउनुभयो । यहाँ दसैँको तथा अन्य बेलामा लाग्ने खर्च सबै बलिको बेलामा उठ्ने रकमबाट चलाउने गरिएको छ ।
प्रवेशमा रोक
बडादसैँमा देवीको पूजाहुने यस आलमदेबी मन्दिरमा ठकुरी महिला बाहेकका महिलालाई प्रवेशमा रोक लगाउने गरिएको छ । यहाँ मन्दिर प्रवेशका लागि पहिला एक जना मानिस नै बसेर रोक लगाउने गरे पनि पछिल्लो क्रममा विगतमाजस्तो नरोकेको थापाले बताउनुभयो ।
ठकुरी बाहेकका महिला मन्दिरमा प्रवेश गरे राम्रो नहुने अर्थात अनिष्ट हुने गरेको सुनिएको उहाँको भनाइ छ । पुरानो मान्यता अनुसार अनिष्ट हुन्छ कि भनेर अन्य महिलाहरु प्रवेश नगर्ने थापाले बताउनुभयो ।
परम्मरा, संस्कृति र रीतिरिबाजको हिसाबले आफू अहिलेसम्म मन्दिरभित्र प्रवेश नगरेको कालिगण्डकी गाउँपालिका उपाध्यक्ष साबित्रा कोइरालाले बताउनुभयो ।
गोरखापत्र अनलाइनवाट साभार