नेपालीहरुको महान चाड बडादशैंअन्तर्गत नवरात्रको चौथो दिन आज कुष्माण्डा भगवतीको विशेष पूजा आरधना गरेर मनाइँदैछ । शक्तिपीठ, देवी मन्दिरहरुमा आज देवीको दर्शन गर्न भक्तजनहरुको घुँइचो लागेको छ । कुष्माण्डा मातालाई शुभकर्मको थालनी र सृष्टिको प्रतिकको रुपमा घर–घरमा पूजा गरिन्छ ।

कुष्माण्डा देवीले ब्रह्माण्डको सृष्टि गरी पृथ्वी रचनाका लागि सूर्य भगवानलाई आफ्नो तापशक्ति दिएर प्रज्वलित बनाएको र अन्य ग्रहको रचना गरी पूरै सौर्यमण्डल सञ्चालन गरेको धार्मिक विश्वास छ ।

कुष्माण्डाको अर्थ कुभिण्डो हो । आज कुभिण्डो फललाई कुष्माण्डा माताको प्रतिक मानेर पूजाआजा गर्ने चलन रहिआएको छ । देवीले उष्ण रक्तसमूहको मानव, चराचुरुङ्गी, सर्पलगायत प्राणीको सिर्जना गरेको शास्त्रहरुमा उल्लेख गरेको पाइन्छ ।

चतुर्थी तिथिका दिन माता कुष्माण्डाको पूजा आरधना गरेमा ज्ञान प्राप्त हुनुका साथै कुनै पनि प्रकारका वाणीमा रहेको दोष हट्ने मान्यता छ । कुष्माण्डा देवीको पूजाआजाबाट ढिलो वाक्य खुल्ने बालकहरूका लागि उपयोगी हुने विश्वास छ । आजै मालपुवा अर्पण गरी पूजा गरेमा र मालपूवा दान गरेमा शुभ हुने धार्मिक विश्वास छ ।

 

तपाईको प्रतिक्रिया