विराटनगर । विराटनगर महानगरपालिका–१८ स्थित आईसीपी रोडमा स्थानीयले विरोध प्रदर्शन गरेपछि मालवहाक सवारी भित्रै थुनिएका छन् । ट्रकको ठक्करबाट साइकलमा सवार विराटनगर–१८ का श्याम साहको मृत्यु भएपछि स्थानीयले सडक सुधार तथा सडक बत्ती लगाउनु पर्ने माग राख्दै विरोधमा उत्रिएका हुन् । ६० वर्षीय साहलाई गएराती ना ४ ख २४८३ नम्बरको मालवहाक ट्रकले ठक्कर दिदाँ गम्भीर घाईते भएका थिए । उनको विराट नर्सिङ होममा उपचारका क्रममा मृत्यु भएको थियो ।

स्थानीयले घाईते साहलाई अस्पतालमा भर्ना गरेपछि पनि त्यहाँ विवाद झिकेका थिए । अस्पतालका व्यवस्थापकसँग भनाभन हुँदा त्यहाँ दुईतर्फी नै भिडन्त गर्ने मोड सिर्जना भएको थियो । प्रहरीले राती अस्पतालको घटना सामसुम पारेर शुबmबार १ बजे छलफलका लागि बोलाएको थियो ।

तर, स्थानीयले भने आईसिपी परिसरमा प्रवेश गरेर तोडफोड प्रयास गरेपछि तनाव सिर्जना भएको हो । शुक्रबार बिहान आईसिपी प्रवेशद्वार नजिक प्रदद्र्धन गर्दै ट्रकमा तोडफोड प्रयास भएपछि प्रहरीले दश राउण्ड अश्रुग्यास समेत हानेर भीडलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक बेदप्रकाश जोशीले जानकारी दिए । उनका अनुसार भीड नियन्त्रणमा आएपनि दुर्घटनामा पीडित परिवार र दुर्घटना गराउने पक्षबीच छलफल नहुँदासम्म आईसिपीबाट मालवहाक सवारी बाहिर निकालिएको छैन । ट्रकका चालकलाई समेत प्रहरीले अहिले नियन्त्रणमा लिईसकेको छ ।

विराटनगर भन्सार कार्यालयका अधिकृत परशुराम दाहालले जाँचपास भईसकेका गाडीहरु अहिले गेट बाहिर निस्कन नसकेको जानकारी दिए । उनले गेटमा केहि तोडफोड भएको जानकारी दिदैं अहिले केहि सामान्य भएको बताए । महिला तथा बालबालिका समेत संलग्न रहेको विरोध प्रदर्शनमा प्रहरीतर्फका चारजना सामान्य घाईते भएका छन् । प्रदर्शनकारीले प्रहरीमाथि आक्रमण गर्न थालेपछि ठूलो संख्यामा प्रहरी परिचालन गरिएको थियो । त्यसपछि प्रदर्शनमा उत्रिएकाहरु आईसिपी क्षेत्रबाट हिजो साँझ दुर्घटना भएका स्थलतर्फ आएका थिए ।

 

तपाईको प्रतिक्रिया