इटहरी  /५६ वर्षको इतिहासमा सबैभन्दा बढी पानी आएको सप्तकोशी नदीले नेपालतर्फको तटबन्ध र ब्यारेजमा क्षति नपु¥याएपनि भारतको विहारतर्फ भने तटबन्ध कटान गरेर बस्तीमा पस्दा लाखौ मानिस प्रभावित बनेका छन ।
भारत विहारको दरभंगा जिल्लाको किरतपुर प्रखंडको भुभोल गाउँ नजिक कोशी नदी तटबन्ध फुटाएर बस्तीमा पस्दा ठूलो क्षेत्रका करिब चार लाख मानिसहरु प्रभावित बनेका हुन ।
सो स्थानमा कोशी नदीले पश्चिमी तटबन्ध आइतवार राती करिब १० मिटर भत्काएर बस्तीमा पसेकोमा सोमबार विहानसम्म आउँदा करिब आधा किलोमिटर बाँध भत्काएको छ । कोशीले सो क्षेत्रको दर्जनौ स्थानमा तटबन्ध भत्काएर आफ्नो वहाव परिवर्तन गरेको छ ।
सो क्षेत्रमा कोशीको पूर्वि र पश्चिमी तटबन्धबीच करिब नौ किलोमिटरको दुरी छ । यो नौ किलोमिटरको विचमा फैलिएको कोशी नदीको पानी अहिले भुभाले गाउँ हुँदै तिब्रगतिमा अन्यत्र फैलिदा प्रभावितहरुको संख्या अझै बढ्दो छ ।
कोशीको पश्चिमी तटबन्धको डेढ किलोमिटरमा मात्रै कमला नदीको पूर्वि तटबन्ध रहेको छ । यदि सो पानी कमलाको तटबन्धमा पुगेर फुटाए सो क्षेत्रमा क्षति अकल्पनीय हूने अधिकारीहरुले जनाएका छन ।
कमला बलान नदीको पश्चिमी तटबंधबाट पूर्वमा रहेको चार पञ्चायतमा पुरै पानी भरिएको छ । कुशेश्वरस्थान फुलतोड़ा मुख्य मार्गलाई छाडेर सबै ग्रामिण सडकबाट पानी बगिरहेकोले यातायात अवरुद्ध भएको छ ।
धान खेत पुरै बाढीमा डुबेको छ । घनश्यामपुरमा आधा दर्जन गाउँ डुबानमा परेका छन । त्यस्तै सहरसाको धेरै गाउँमा बाढीको पानी प्रवेश गरिरहेको छ ।
दरभंगा जिल्लाको किरतपुर प्रखंड पश्चिमी कोशी तटबंध फुट्दा महिषी प्रखंडको बघवा पंचायत, घोंघेपुर पंचायत, तेलवा पश्चिमी पंचायत, बीरगांव पंचायत एवं मनोवर पंचायतको धेरै गाउँमा बाढीको पानी पसिसकेको छ ।

तपाईको प्रतिक्रिया