सुनसरी /आसन्न बडादसैँ र तिहारलाई लक्षित गरेर इटहरी बसपार्कमा यात्रु सहायता कक्ष स्थापना भएको छ ।
चाडपर्वको अवसरमा जिल्ला भित्रिने र बाहिरिने तथा पहाडी जिल्ला भ्रमणमा निस्कने यात्रुको यात्रालाई सहज बनाउन कोसी प्रदेश ट्राफिक प्रहरीको पहलमा मङ्गलवार देखी यात्रु सहायता कक्ष सञ्चालन गरिएको हो । साहयता कक्षको सुनसरी जिल्ला प्रमुख रामचन्द्र तिवारीले आज एक कार्याक्रमका विच समुदघाटन गर्नु भएको छ ।
यात्रु सहायता कक्ष मार्फत् यात्राका क्रममा यात्रुले भोग्नुपरेका समस्या तथा कठिनाइका विषयमा सहजीकरण गरिने कोसी प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सरोज पौडेलले बताउनु भयो । दसैँ तिहारमा यात्रुको चाप बढी हुने हुँदा यातायात व्यवसायीले मनोमानी भाडा असुल्ने, क्षमताभन्दा बढी यात्रु बोक्ने, ट्राफिक नियमको उल्लङ्घन गर्नेजस्ता घटनालाई रोक्न यात्रु सहायता कक्ष स्थापना गरिएको पौडेलले बताउनु भयो ।
यात्रु सहायता कक्ष उद्घाटन गर्दै सुनसरीका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीले टिकट काउन्टरबाट हुने मनोमानी रोक्न र मनपरी खोलिएको अवैध टिकट काउन्टर बन्द गराउन प्रहरीलाई निर्देशन दिनुभयो ।
ट्राफिक तथा यातायात सम्बन्धी सूचना एवम् जानकारी लिने दिने, चाडपर्वका नाममा हुने विकृति र अपराधको न्यूनीकरणमा समेत यात्रु सहायता कक्षबाट सहयोग पुग्ने तिवारीले बताउनु भयो ।

तपाईको प्रतिक्रिया