सुनसरी / काठमाडौं । देशका केही जिल्लाका नदी तथा खोलामा आज बाढीको जोखिम रहेको छ । मोरङ, सुनसरी र झापाका नदी तथा खोलामा आकस्मिक बाढीको मध्यम जोखिम रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

आज कोसी, वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको दक्षिणतिर रहेको र देशभर मनसुनी वायुको प्रभाव रहेकाले वर्षाको सम्भावना रहेको हो । बंगालको खाडीमा विकसित भएको न्यूनचापीय प्रणालीको पनि आंशिक प्रभाव रहेको विभागले बताएको छ ।

यसैबीच, भोलि र पर्सी देशभरका नदीहरूको बहाव उल्लेख्य बढ्नेछ । नारायणी, वाग्मती, कमला, कन्काई, पश्चिम राप्ती, बबई र यसका सहायक नदीहरूमा जलसतह सतर्कता तह आसपास पुग्ने पूर्वानुमान छ ।

कोसी, मधेस, वाग्मती र कर्णाली प्रदेशका नदी तथा खोलामा आकस्मिक बहावको मध्यम जोखिम रहेको विभागको भनाइ छ ।

गण्डकी, लुम्बिनी, सुदूरपश्चिम प्रदेशमा आकस्मिक बहावको उच्च जोखिम रहने पूर्वानुमान रहेकाले उच्च सतर्कता अपनाउनुपर्ने विभागले बताएको छ ।

तपाईको प्रतिक्रिया