विराटनगर । केही दिनअघि मोरङको ग्रामथानस्थित मोतिपुरको जूवाको खालबाट नामुद जूवाडे अर्जुन तुम्रोक प्रहरीलाई लडाएर भागेको खुलेको छ । मोरङको ग्रामथान गाउँपालिका–४ मोतिपुरस्थित कटहरा टोलबाट जूवा खेल्ने ९ जनाको समूहलाई भदौ २९ गते राति प्रहरीले पक्राउ गरेको थियो । तुम्रोक भने प्रहरीलाई लडाई टेकेर भागेको स्रोतले बताएको छ ।

तुम्रोकले टोकेकाले एक जना प्रहरीको हातमा चोट लागेको छ । सानो समूहमा छापा मार्न पुगेको सादा पोशाकका प्रहरी टोलीले ठूलो समूहलाई छेक्न नसक्दा उनी भाग्न सफल भएको बताइएको छ ।

मोरङको उर्लाबारी निवासी तुम्रोकले एक दर्जन भन्दा बढी जूवाको मुद्दा भोगिसकेका छन् । उनी नेपालका धेरै जिल्ला र भारतको बिहारसम्म पुगेर जूवा खेल्ने ब्यक्तिका रूपमा परिचित छन् । तुम्रोक भाग्दा उनले आफ्नो गाडी छाडेका थिए । उनको गाडीमा ५० लाख रूपैंयाँ भएको स्रोतले बताएको छ । तुम्रोकले गाडी छाडेर भागेको जानकारी नभएकाले प्रहरीले नियन्त्रणमा लिन पाएन ।

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले दशैं तिहार लक्षित गरेर सुरक्षा सुनिश्चितता अभियान सञ्चालन गरेर जूवाको खाल खोजी गरेको जनाएको छ । प्रहरीका अनुसार मोतिपुरको जूवाको खाल बाँस र टिनले बनाइएको महिला समूहको सामुदायिक भवनमा चलाइएको थियो । जूवाखालबाट प्रहरीलाइ दैनिक एक लाख रूपैंयाँ खाल सञ्चालकले दिने गरेको स्रोतको दाबी छ ।

स्रोतका अनुसार जूवाको खाल चलाउनेहरूले मासिक रूपमा बेलबारी प्रहरी, जिल्ला प्रहरी कार्यालय मोरङ र संघीय प्रहरी कार्यालय, धरानका उपल्लो दर्जालाई समेत पैसा बुझाउने गरेको स्रोतको भनाइ छ । प्रदेश प्रहरी कार्यालयलाई बेवास्ता गर्दै जूवाखाल सञ्चालन गर्न थालेपछि जूवाडेहरू फन्दामा परेको स्रोतको भनाइ छ ।

ग्रामथान(४ का वडाध्यक्ष बद्रीनारायण माझीले सामुदायिक भवनमै जूवाको खाल चलाइएको बारे मानिस पक्राउ परेपछि मात्रै आफूलाई थाहा भएको बताए । जूवाडेहरू एकै ठाउँमा नबस्ने र ठाउँ परिवर्तन गर्दै खेल्ने गरेको सुनिएको उनको भनाइ छ । प्रदेश प्रहरी कार्यालयको टोलीले जूवाको खालमा घेरा हालेर उनीहरूलाई समातेको थियो ।

पक्राउ पर्नेहरूमा मोरङको ग्रामथान गाउँपालिकाका पूर्व अध्यक्ष ५९ बर्षीय शिवनारायण माझी, ग्रामथान–४ का ५५ बर्षीय अहिलाल माझी, सुन्दरहरैंचा नगरपालिका–१ का ४५ बर्षीय जयकिश्वर साह, सुन्दरहरैचा–१ का ५० बर्षीय जनककुमार मास्केलगायत छन् । अन्यमा सुन्दरहरैचा–३ का ३० बर्षीय प्रताप भन्ने इच्छा राई, लेटाङ नगरपालिका– ९ का ३८ बर्षीय लोकनाथ सापकोटा, झापा दमक नगरपालिका–१० का ४६ बर्षीय ऋतुबर्ण नेम्वाङ, सुनसरी धरान–१५ का ४५ बर्षीय युवक राई र महोतरी गौसाला नगरपालिका–१ का ४५ बर्षीय महेश साह छन् ।

प्रहरीले जूवाको खालबाट कौडा १६ थान, तास १२ बिटा, पाउडर २ बट्टा, कपडाको झोला २ थान, मोबाइल १५ थान र नगद १८ लाख ४९ हजार ५ सय रूपैयाँसमेत बरामद गरेको छ । पक्राउ परेकालाई जूवा सम्बन्धी कसुरमा जिल्ला प्रशासन कार्यालय मोरङबाट म्याद थप गरी इलाका प्रहरी कार्यालय बेलबारीबाट अनुसन्धान भइरहेको प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक भीम दाहालले जानकारी दिए ।
उधघोष डेलीवाट

तपाईको प्रतिक्रिया