आफ्नै अनुयायीलाई बलात्कार गरेको अभियोग खेप्दै आएका विवादास्पद धर्मगुरु सिद्धबाबा भनिने कृष्णबहादुर गिरीले उच्च अदालत विराटनगरबाट पनि सफाइ पाएका छन् ।

जिल्ला अदालत सुनसरीले दोस्रोपटक सफाइ दिएको फैसलालाई उच्च अदालत विराटनगरले समेत मङ्गलबार सदर गरेको हो । न्यायाधीशद्वय विमल सुवेदी र राजेन्द्र अधिकारीको संयुक्त इजलासले जिल्लाको फैसला सदर गरेको हो ।

२०७६ कात्तिकमा एक महिला अनुयायीलाई आश्रममा बलात्कार गरेको आरोप लागेपछि सिद्धबाबा अनुसन्धानमा तानिएका थिए । उनले यसअघि सुनसरी जिल्ला अदालतबाट दुईपटक सफाइ पाइसकेका थिए ।

उनलाई पहिलोपटक सुनसरी अदालतका न्यायाधीश अर्जुनप्रसाद कोइरालाको इजलासले २०७७ मङ्सिरमा पीडित महिलाले शरीर समर्पण गरेको भन्दै सफाइ दिएको थियो भने, उच्च अदालत विराटनगरले फैसला त्रुटिपूर्ण भन्दै जिल्ला अदालतमै फर्काइदिएपछि जिल्ला अदालत सुनसरीका न्यायाधीश हरिप्रसाद कोइरालाको इजलासले सिद्धबाबालाई २०८० भदौमा दोस्रोपटक सफाइ दिएको थियो ।

जिल्ला अदालत सुनसरीमा सुरु फैसला हुनुअघि २०७७ मङ्सिरमा सुनसरी जिल्ला सरकारी वकिल कार्यालयले पेसी सार्न माग गर्दै निवेदन दिएको थियो । तर, आरोपित पक्षको मात्रै बयान सुनेर एकतर्फी सुनुवाइकै आधारमा जिल्लाले फैसला गरेपछि इजलास विवादमा तानिएको थियो ।

तपाईको प्रतिक्रिया