काठमाडौँ । जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त (सीके) राउत सम्बन्धबिच्छेदको मुद्दा बोकेर अदालत पुगेका छन् । राउतले ललितपुर जिल्ला अदालतमा सम्बन्धबिच्छेदको मुद्दा ९फिरादपत्र० दायर गरेका हुन् ।
राउतले श्रीमती सोनी सिन्धु घरमा नबस्ने अनि माइतमात्र जाने गरेको फिरादपत्रमा उल्लेख छ । सिन्धु लामो समयदेखि भारतमा रहँदै आएको दाबी पनि उनले उक्त मुद्दामा उल्लेख गरेका छन् ।

उक्त मुद्दामा अहिले जिल्ला अदालतले म्याद तामेलीको तयारी गरिरहेको छ।

राउतले श्रीमतीले आफ्ना छोराछोरी र परिवारको दायित्व पुरा नगरेकाले मुलुकी संहिता अनुसार आफू अलग भएर बस्न चाहेको फिरादपत्रमा उल्लेख गरेका छन् । राउतकी श्रीमती सिन्धु भारतीय नागरिक हुन् भने उनीहरूका दुई छोरी र एक छोरा छन्।

राउतले मुद्दामा ‘अंश’ दिएर राख्न पनि आफू तयार रहेको फिरादपत्रमा उल्लेख गरेका छन् । जिल्ला अदालतका अनुसार प्रतिवादी सिन्धुको म्याद तामेलीपछि मात्र यो विवादमा पेसी सुरु हुने छ। दुवै पक्षको जवाफ आएपछि जिल्ला अदालतले सम्बन्ध विच्छेद हुने वा नहुने निर्णय सुनाउने छ।

तपाईको प्रतिक्रिया