खनार । सुनसरी मोरङ औद्योगिक करिडोरका दुई दर्जनभन्दा बढी उद्योगहरू अखाद्य वस्तु मिसाएर उत्पादन बजार पठाएको अभियोगमा मुद्दा खेपिरहेका छन्। करिडोरभित्रका उद्योगविरूद्ध खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले लगातार गरिरहेको मुद्दा दर्ताको तथ्यांकबाट खाद्य उद्योगले गर्ने बदमासी निरन्तर बढेको देखाउँछ।

गएको आर्थिक वर्षमा मात्रै करिडोरका २९ वटा उद्योगविरूद्ध अखाद्य वस्तु मिसावट गरेको भन्दै मुद्दा दायर भएको छ। ती उद्योगका उत्पादन गुणस्तरहीन भेटिएपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले मुद्दा दर्ता गरेको हो।

मोरङका ९ र सुनसरीका २० वटा उद्योगले उत्पादन गरेका खाद्यवस्तु गुणस्तरहीन भेटिएपछि मुद्दा दर्ता गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगरका प्रमुख राजकुमार रिजालले जानकारी दिए। उनका अनुसार आर्थिक वर्ष २०७७र०७८ मा १ सय १६ वटा उद्योगको बजार अनुगमन गरेर उत्पादन नमूना संकलन गरिएको थियो। जसमध्ये सुनसरीका २० र मोरङका ९ उद्योगको उत्पादन गुणस्तरहीन भएको ल्याब रिपोर्टबाट पुष्टि भएपछि मुद्दा दायर गरिएको हो।

चाउचाउ, बिस्कुट, पिउने पानी, सूर्यमुखी तेल, खाद्य पदार्थ, सोयाबिन तेल, तोरी तेल, घ्यु लगायत खाद्यपदार्थ उत्पादकविरूद्ध मुद्दा दायर गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले जनाएको छ।

शुद्ध र उपभोग्य वस्तु उपभोग गर्न पाउने उपभोक्ता अधिकारको खिल्ली उडाउँदै खाद्य उद्योगहरुले जथाभाबी मिसावट गर्ने क्रम बढेको छ। खाद्यवस्तु गुणस्तरहीन भएको पुष्टि भएपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले जिल्ला प्रशासन कार्यालयमा माग दाबी लिएर अभियोग लैजाने गरेको छ।

तपाईको प्रतिक्रिया