तेह्रथुम । कोशी प्रदेश सरकारको महत्वपूर्ण सडक सञ्जालको रुपमा सिधुवा शुक्रबारे सडक बुधबार कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले उद्घाटन गर्नुभएको छ ।
कोशी प्रदेश सरकारको ८९ करोड ९० लाख रुपैयाँको लागतमा सडक निर्माण गरिएको हो । प्रदेशले काम गर्न नसकिरहेको आलोचना भइरहेको बेला धनकुटा र तेह्रथुम जिल्लालाई जोड्ने यो सडक निर्माणले त्यस क्षेत्रको आर्थिक गतिविधिमा महत्वपूर्ण योगदान पुग्ने कोशी प्रदेश सरकारले जानकारी दिएको छ । १७ किलोमिटर लामो सडक निर्माणले तेह्रथुमको कृषि, पर्यटनको प्रर्वद्धनमा भूमिका खेल्ने छ । यो सडक धनकुटाको सिधुवाबाट सुरु भइ तेह्रथुमको सदरमुकामसम्म पुर्याउने लक्ष्यका साथ निर्माण गरिएको हो । सडक सञ्जालको उद्घाटन गर्दै कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सडक निर्माणले स्थानीय बजार प्रर्वद्धन र विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । उहाँले पहाडी जिल्लामा भइरहेको बसाइँसराइ रोक्न र कृषि र पर्यटनलाई प्रर्वद्धन सडक महत्वपूर्ण हुने बताउनुभयो । उहाँले भन्नुभयो –“आज पहाडमा बसाइँसराइ बढ्दै गएको छ, यो रोक्न नीतिगत व्यवस्था गर्दै शिक्षा र स्वास्थ्यमा पनि सरकारले काम गर्ने छ । ”
प्रदेश संरचना नयाँ भएपनि यसले महत्वपूर्ण काम गरिरहेको र कोशी प्रदेशको संवृद्धिको लागि आगामी वर्ष कोशी पर्यटन वर्ष मनाउने तयारी भइरहेको जानकारी दिनुभयो । “नयाँ संरचना हो हामी राम्रा र देखाउन हुने काम गर्ने छौँ” – उहाँले भन्नुभयो “आगामी असोज ११ गते पर्यटन दिवसका दिन सबै नीतिगत कुराहरु घोषणा गरेर पर्यटन वर्षको तयारीलाई तीव्रता दिने छौँ । ”
मुख्यमन्त्री कार्कीले बुधबार नै तेह्रथुमको थछर जोरपाटीको खेलकुदलगायत विभिन्न कार्यक्रममा सहभागिता जनाउनु भएको थियो ि

तपाईको प्रतिक्रिया