इटहरी स् इटहरीमा ब्लेडले घाँटी चिरेर एक नाबालिकाको क्रूर हत्या भएको छ । शनिबार (आज)दिउँसो ३ः४० बजेतिर इटहरी ५ पचरुखीस्थित एक नाबालिकाको क्रूर हत्या भएको हो ।

स्थानीय मनहरी ढकालको घरमा कोठा गरी बस्ने ३० वर्षीय सालिग्राम लुइँटेलले नाबालिकाको हत्या गरेको इलाका प्रहरी कार्यालय इटहरीले पुष्टि गरेको छ ।

सालिग्रामका दाजु नवराज लुइँटलेकी डेढ वर्षीया छोरी आइन्सु लुइँटेलको घाँटी र टाउकोमा ब्लेडले चिरेर उनै सालिग्रामले हत्या गरेको इटहरी प्रहरीले पुष्टि गरेको हो ।

‘आफ्नै भतिजीको हत्या गरेको खबर आएपछि हामी घटनास्थलमा पुगेका थियौँ,’ एक प्रहरी अधिकृतले भने, ‘प्रहरीलाई ३ः४० बजेतिर मात्रै खबर आएको थियो । हामीले प्रारम्भिक अनुसन्धान गर्दा ती व्यक्ति मृतक बालिकाका आफ्नै काका रहेछन् ।’

घटनास्थलबाट ब्लेडसहित सालिग्रामलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ । सालिग्राम केही वर्षअघिदेखि डिप्रेसनको औषधि सेवन गरिरहेको र मानसिक रोगीजस्तो रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

‘उनी (सालिग्राम)दुई, तीन वर्षअघि घरको छतबाट हाम्फालेर ढाड पनि भाँचिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ,’ ती प्रहरी अधिकृतले भने, ‘अहिले डिप्रेसनको औषधि सेवन गरेको पनि खुलेको छ । भर्खरैको घटना भएका कारण थप अनुसन्धान गर्न पाएका छैनौँ ।’

उनका अनुसार मृतक बालिकाका बुबा नवराज लुइँटेल वैदेशिक रोजगारीमा छन् । यहाँ बुबाआमासहित, भाउजू र भतिजीसँग बस्दै आएका सालिग्रामको साथबाट प्रहरीले तत्काल ब्लेड बरामद गरेको थियो ।

‘तत्कालको परिस्थिति हेर्दा ब्लेडले नै घाँटी र टाउकोमा काटेको देखिन्छ,’ ती प्रहरी भन्छन्, ‘घटनास्थलबाट पनि ब्लेड नै बरामद गरिएका कारण तत्काल ब्लेडकै कारण घटना भएको हो भन्न सकिन्छ । थप अनुसन्धान भने जारी छ ।’

मृतक बालिकाको शव पोस्टमार्टमका लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाएर घटनाबारे थप अनुसन्धान शुरू गरिएको इटहरी प्रहरीले जनाएको छ । प्रहरीले विभिन्न कोणबाट अनुसन्धान जारी राखेको जनाएको छ ।

तपाईको प्रतिक्रिया