इटहरी । प्रथम अन्तरप्रदेश महिला ह्वीलचियर बास्केटबल प्रतियोगिताको उपाधी कोशी प्रदेशले जितेको छ ।

इटहरीमा आज सम्पन्न फाइनलमा लुम्बिनी प्रदेशलाई ५ का बिरुद्ध ८ स्कोरले पराजित गर्दै कोशीले उपाधी जितेको हो ।

पहिलो क्वाटरमा २–२ को बराबरी स्कोर जोडेको कोशीले दोस्रो क्वाटरमा २–० को अग्रता कायम गरेको थियो । तेस्रो क्वाटरमा लुम्बीनीसंग ३–२ स्कोरले पछी परेको कोशीले अन्तिम क्वाटरमा २–० को स्कोर निकाल्दै बिजेता बन्न सफल भएको हो ।

स्पाइनल इन्जुरी संघ कोशी प्रदेशको आयोजनामा तथा कोशी प्रदेश खेलकुद विकास बोर्डको मुख्य सहयोगमा सम्पन्न प्रतियोगिताको बिजेता कोशीले उपाधीसंगै नगद २५ हजार पाएको छ ।

उपबिजेता लुम्बिनीले २० हजार पाएको छ । प्रतियोगितामा कोशी प्रदेशकी रजनी राई उत्कृष्ट खेलाडीसंगै हाइस्कोरर घोषित भइन । दुई दिनसम्म चलेको प्रतियोगितामा मधेश प्रदेश बाहेक ६ वटै प्रदेशको सहभागीता रहेको थियो ।

 

तपाईको प्रतिक्रिया