सुनसरी / सुनसरीको हरिपुरमा भेडाको हुलको पछि पछि हिड्दै गरेको ४५ वर्षिय विजय पालको अनुहार मलिन थियो । भेडा चराउन चरणको खोजिमा घरवाट निस्किएका पालको अव घर फिर्ति चार महिना पछि मात्र हुन्छ ।
उनीमात्र हरिपुर क्षेत्रमा व्यसायिक रुपमा भेडा पाल्दै आएका एक दर्जन किसनको पिडा उस्तै छ । जमिनलाई टुक्रा–टुक्रा गरेर घडेरीमा बिक्री वितरण गर्ने चलन बढेपछि भेडाबाख्रा पालनका लागि चरन क्षेत्रको अभाव हुन थालेको छ ।
कृषियोग्य जमिन कम हुँदै गएपछि भेडा चराउने ठाउँको कमी भएको हो । चरन क्षेत्रको अभावका कारण भेडापालकलाई भेडा चराउन र भेडा बचाउन सकस पर्न थालेको छ ।
भेडाकै कारण घरका परिवारसँगको सम्पर्क कमै हुने गर्छ । भेडा चराउनैका लागि घाँस भएको क्षेत्र खोज्दै दैनिक १० देखि २० किलोमिटरको यात्रा भेडा लिएर पैदल तय गर्नुपर्ने बाध्यता छ ।
‘भेडालाई बाँधेर राख्न गाह्रो छ । खुलामा चराउनु पर्छ । खुलामा चराउँदा खेतमा पसेर अरूको बाली खाइदेला भन्ने पीर हुन्छ’, दयानन्द पालले भने, ‘राति बास बस्दा पनि जङ्गली जनावरले भेडा खाइदेला भन्ने चिन्ता छ । आलोपालो गरेर २४सैँ घण्टा भेडाको सुती–नसुती निगरानी गर्नुपर्ने अवस्था छ ।’
वर्षमा दुईपटक भेडाबाट ऊन निकाल्ने गरिएको छ । आधुनिकतासँगै भेडाको ऊनको बिक्री पनि कम हुँदै गएको छ । भेडाको ऊनको चाङले घर नै भरिए पनि बिक्री गर्न समस्या छ । भेडा चराउन हरिनगराबाट थालिएको यात्रा विराटनगर, लौकही, इनरूवा, भण्टाबारी, जनकपुरसम्म पुग्ने उहाँ बताउँछन् ।