वीरगन्ज — वीरगन्जका मेयर राजेशमान सिंहले झुटो विवरण पेश गरी हुँदै नभएको छोरीलाई बाबु बनेर नागरिकता दिलाएको विषयमा जिल्ला प्रहरी कार्यालयले समेत अनुसन्धान अगाडि बढाएको छ ।

मेयरले नागरिकता दिलाएको प्रकरणमा प्रशासनले थाल्यो अनुसन्धान
प्रहरीले जिल्ला प्रशासन कार्यालयलाई नागरिकता लिँदा पेश गरिएको अनुसूची फारम सहितका कागजातहरु पठाउन पत्राचार गरिसकेको छ । वीरगन्ज महानगरपालिका– ३ निवासी लियाकत अलीले रुबीना श्रेष्ठ र राजेशमान सिंह विरुद्धमा भुठा विवरण पेश गरी नागरिकता र राहदानी लिएको कसूरमा जाहेरी दिएका थिए ।

प्रहरीले प्रशासन कार्यालयबाट २०७५ साउन १३ मा रुबीना श्रेष्ठको नाममा जारी भएको ३४–०१–७५–०४८४७ नम्बरको नेपाली नागरिकताको प्रमाण पत्रको छायाँकपी प्रहरीले माग गरेको छ ।

यसको साथै नागरिकताको प्रमाण पत्र लिदा पेश गरेको अनुसूची फारम लगायत सो सम्बन्धित सम्पूर्ण कागजातहरुको आवश्यकता परेको हुँदा कार्यालयमा पठाउन पत्राचार गरिएको छ । रुबीनाले २०७९ साउन २४ मा ११०३९६१७ नम्बरको राहदानी लिँदा पेश गरेको आवेदन फारम तथा सो सँग सम्बन्धित सम्पूर्ण कागजात समेत माग गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरी उपरिक्षक कोमल शाहले जाहेरी दरखास्त आएपछि अनुसन्धानका लागि नागरिकतासँग सम्बन्धित कागजात प्रशासन कार्यालयबाट माग गरिएको बताए । ‘नागरिकता सम्बन्धी कागजात माग गरेका छौँ,’ एसपी शाहले भने, ‘अनुसूची लगायतका फारम आएपछि अनुसन्धान थप अगाडि बढ्छ । ’

प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले मेयर राजेशमान सिंहमाथि परेको जाहेरीमा अनुसन्धान भइरहेको बताए । ‘मेयरको नागरिकता प्रकरणमा अन्य निकायले पनि आ– आफ्नो तरिकाले अनुसन्धान गरेका छन्,’ प्रजिअ भुसालले भने, ‘प्रहरीले अनुसूचि लगायतको कागजात माग गरेको छ ।’ झूठो विवरण पेश गरेर अरुको छोरीलाई आफ्नो नामले नागरिकता दिलाएको भन्दै जिल्ला प्रशासन कार्यालयमा गत पुस २४ मा जाहेरी परेको थियो ।

आफ्नो दाम्पत्य जीवनबाट सन्तानको रुपमा एकजना मात्र छोरा भएकाले वीरगन्जका मेयर राजेशमान सिंहले एक किशोरीलाई वंशजको नागरिकता दिलाएको आरोपले अहिले चर्चा पाएको छ ।

राजेशमान सिंह नगर प्रमुख बन्नु भन्दा ९ वर्ष अगाडि काठमाडौँमा जन्मिएकी ‘अरुको छोरी’लाई आफ्नो छोरी बनाई वीरगन्ज महानगरपालिका– ३ बाट जन्मदर्ता बनाएको आरोप लागेको छ ।

मेयर राजेशमान सिंहले नागरिकता प्रकरणको अनुसन्धानमा पूर्ण सहयोग गर्ने बताउँदै आएका छन् । जिल्ला प्रशासन कार्यालयमा जाहेरी दरखास्त परेकाले बाहिर मिडियामा नबोल्ने उनले प्रतिक्रिया दिएका छन् । कान्तिपुरवाट

तपाईको प्रतिक्रिया