सन्तोष यादव !

इटहरी । स्थानीय तहको निर्वाचन सकिएर धमाधम इटहरी नगरपालिकामा इटहरी क्षेत्रको मतपेटिका आउने क्रम जारी थियो । दुई दशकपछि भएको स्थानीय तहको निर्वाचनको रौनक पनि सर्वसाधारणमा उस्तै लागेको थियो । मतपेटिकासँगै हजारांैको भीड इटहरीको नगर परिसरमा लागेको थियो । इटहरी उपमहानगरपालिकाको परिसरभित्र इटहरीका जल्दाबल्दा नेता हेमकर्ण पौडेलसँग धेरैले भलाकुसारी गरिरहेका थिए । स्थानीयस्तरमा लोकप्रिय नेपाली काङ्ग्रेसका युवा नेता पौडेलसँग अन्य सर्वसाधारणसँगै इटहरीबासी भोला बस्नेत पनि केहिबेर गफिएर बाहिर निस्के । बाहिर पनि हेमकर्ण पौडेल वरिपरी सर्वसाधारण झुम्मिएको देखेर बस्नेत छक्क परे, कति छिटो यो मान्छो बाहिर आयो होला ? भनेर । र, पछाडि फर्केर हेरे नगरपरिसरभित्र यथा स्थानमा पौडेल सर्वसाधारणको बीचमै थिए । बल्ल बस्नेतले थाहा पाए उनी त सक्कली होइन उनी जस्तै देखिने अर्कै व्यक्ति पो रहेछन् । उस्तै कद उस्तै अनुहार उस्तै हाउभाउ सबैले उनी हेमकर्ण पौडेल भनेर कुरा गर्न खोज्दै थिए । तर उनी मुसुमुुसु हाँसीमात्र रहेका थिए । नेपाली काङ्ग्रेसका नगरसभापति हेमकर्ण पौडेल पछिल्लो समय निकै चर्चामा छन् । स्थानीयस्तरमा राम्रो जनाधार भएका पौडेल नेपाली काङ्ग्रेसका तर्फबाट इटहरीको मेयरको टिकट पाउनेमा ढुक्क थिए । तर उनले टिकट पाएनन् । मेयरको टिकट अर्कैको पोल्टामा परेपछि एकाएक इटहरीमा हेमकर्णका समर्थकहरु सड्कमा उत्रिए विरोध प्रदर्शन गरे । तीन दिनसम्म पौडेलको समर्थनमा हजारौं जनता सड्कमा उत्रिपछि मात्र उनका विरोधीहरुले जिब्रो टोके पौडेलको जनाधार देखेर । अनि उनको चर्चा स्थानीयस्तरमा मात्र होइन जिल्ला हुँदै केन्द्रसम्म पनि उत्तिकै चर्चा सुरु भयो । रातारात पौडेल काङ्ग्रेसका नेताबाट इटहरीकै लोकप्रिय नेताको रुपमा चिनिए । सबैको चासोको पात्र बनेका पौडेलजस्तै अर्का मान्छे पनि भेटिएपछि सबै तीन छक्क परे । फिल्मीक्षेत्रमामात्र देखेका “डुप्लिकेट” रोल सर्वसाधराणका लागि कौतुहलताको विषय बन्यो । धेरैले उनीसँग फोटो खिच्न भ्याए । हेमकर्ण पौडेल र उनी जस्तै व्यक्तिसँग फोटो खिच्न भ्याएका भोला बस्नेतले आफ्ना लागि रमाइलो भएको बताए ।
को हुन अर्का व्यक्ति ?
एक जना राजनीतिज्ञ चर्चाको पात्र भए पनि अर्का व्यक्ति सार्वजनिक जीवनबाट निकै टाढा रहेका छन् । ती व्यक्ति सुनसरीको खनारस्थित रिलायन्स स्पिनिङ मिल्सको प्रशासनमा कार्यरत रहेका छन् । भरत निरौला नाम गरेको सो व्यक्तिको केहि आनीबानी भने पौडेल जस्तै रहेको छ । दुवैको अनुहारसँगै हाउभाउ समेत मिल्दोजुल्दो रहेको छ । बोल्दा मुसुक्क हाँसेर आफ्नो कुरा राख्ने बानी समेत उस्तै भएको दुवैलाई चिन्ने खनारका स्थानीय युवा तेजेन्द्रशेर कार्कीले बताए ।

तपाईको प्रतिक्रिया