विराटनगर। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको इटहरी कार्यालयमा स्थानीय तहका उजुरी धेरै परेको छ। कोशी प्रदेशका ११ र मधेश प्रदेशको एउटा जिल्ला हेर्ने आयोगको कार्यालयमा परेका उजुरी मध्ये ३८।९१ प्रतिशत स्थानीय तहका हुन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीका प्रमुख सुरेश न्यौपानेका अनुसार आर्थिक वर्ष २०८०– ०८१ मा आयोगमा २६ हजार ९१८ उजुरीहरू विभिन्न माध्यमबाट परेको थियो।

अघिल्लो आर्थिक वर्षबाट जिम्मेवारी सरेका ९ हजार २६८ सहित गत वर्षको दायित्वमा ३६ हजार १८६ उजुरी थियो। तीमध्ये २७ हजार ७१४ उजुरी स्क्रिनिङ्ग गरी १३ हजार ५०० उजुरी तामेलीमा राखिएको, ४९६ उजुरीमा सुझाव दिई तामेली गरिएको र १२ हजार ७८६ उजुरीमा आवश्यक कारबाहीका लागि विभिन्न निकायमा लेखी पठाएको र ८ हजार ४७२ उजुरी प्रारम्भिक छानबिनको क्रममा रहेको उनले बताए ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय ईटहरीमा गत आर्थिक वर्षमा २०८६ लिखित उजुरी दर्ता भएको थियो । अघिल्लो वर्षबाट दायित्व सरेका ७४३ सहित २ हजार ८२९ वटा उजुरी थिए। जसमध्ये गत वर्ष २ हजा। २८१ उजुरी फछ्यौट भएको उनले बताए ।

आयोगको कार्यालयमा परेका उजुरी मध्ये धेरै ३८।९१ प्रतिशत स्थानीय तहका हुन् । शिक्षामा १५।७९ प्रतिशत, गैरकानुनी सम्पति आर्जनसँग सम्बन्धि ६।९८ प्रतिशत र भूमी प्रशासनसँग सम्बन्धित ६।४ प्रतिशत उजुरी परेका छन् ।

नक्कली शैक्षिक प्रमाणपत्रसँग सम्बन्धित ४।७१ प्रतिशत, वन तथा वातावरणका ३।८२ प्रतिशत, स्वास्थ्य तथा जनसंख्या क्षेत्रमा ३।६ प्रतिशत, भौतिक पूर्वाधार तथा यातायात क्षेत्रका ३।६१ प्रतिशत, गृह प्रशासनको ३।५२ प्रतिशत, अर्थ क्षेत्रसँग सम्बन्धित २।१३ प्रतिशत, जलस्रोत तथा सिंचाइका २।१० प्रतिशत, खानेपानीका १।६१ प्रतिशत उजुरी परेका छन् ।

अख्तियारको प्रतिवेदन बुझ्दै कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले भ्रष्टाचार नियन्त्रण गरी सुशासन कायम गर्न आग्रह गरे ।

तपाईको प्रतिक्रिया