सुनसरी /देवानगंज गाउँपालिकाका वडा अध्यक्ष पक्राउ परेका छन् । सरकारी कागजात किर्ते गरेको आरोपमा सुनसरीको देवानगंज गाउँपालिका ७ का वडा अध्यक्ष सूर्यनारायण यादव पक्राउ परेका हुन । उनलाई सुनसरी जिल्ला अदालतले सरकारी कागजात किर्ते गरेको आरोपमा पक्राउ पुर्जी जारी गरेको थियो । स्थानीय सिताराम यादवले आफ्नै छोरा राम यादवको २०६५ साल ज्येष्ठ १५ गते मृत्यु भएको भनी तत्कालीन गाविस कार्यालयमा गएर झुटो विवरण दिएका थिए । त्यस बेला उक्त कार्यालयका कर्मचारीले मृत्यु दर्ता प्रमाणपत्र बनाएर जिल्ला अदालत सुनसरीमा निवेदन साथ लगत कट्टाको लागि मृत्यु दर्ता प्रमाण पत्र समेत पेस गरेका थिए । देवानगंज गाउँपालिका ७ वडा कार्यालयले सुनसरीमा राष्ट्रिय परिचयपत्र तथा पञ्जी करण ऐन सम्बन्धी कसुरमा सर्जिमिन हुँदा वडा अध्यक्ष यादवले समेतका व्यक्तिहरूले सितारामको छोरा राम यादवको मृत्यु भइसकेको सर्जिमिन गरेका थिए । राम यादवको मृत्यु भएको भनेर उनीहरूले अदालतबाट तोकिएको १० वर्षको कैदको लगत कट्टा गराउने प्रयास गरेको प्रहरीले जनाएको छ। राम भन्ने रमानन्द यादव जबरजस्ती करणी र डाँका मुद्दामा पक्राउ परेर कारागारमा कैद भुक्तान गरिरहेका थिए । उनलाई जिल्ला अदालतले २०७९ असार २९ गते १० वर्ष कैद हुने ठहर गरेको थियो । उनका विरुद्ध २०६५ सालमा अदालतमा मुद्दा दर्ता भएको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया