विराटनगर । आपराधिक गतिविधिमा संलग्न रहेको आरोप लागेका ‘गुन्डानाइके’ अभिषेक गिरीलाई थप अनुसन्धानका लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले काठमाडौं लगेको छ । मोरङ प्रहरीले सोमबार राति विराटनगर विमानस्थलबाट बुद्ध एयरमार्फत गिरीलाई काठमाडौं पठाएको हो ।

मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालका अनुसार गिरीविरुद्ध सीआईबीले यसअघि नै ठगी तथा आपराधिक विश्वासघातसम्बन्धी मुद्दामा पक्राउ पुर्जी जारी गरेको थियो । मोरङ प्रहरीले भने उनीमाथि संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी आरोपमा अनुसन्धान अघि बढाएको थियो ।

सोमबार जिल्ला अदालत मोरङमा गिरीलाई म्याद थपका लागि उपस्थित गरिए पनि अदालतले म्याद थप गर्न अस्वीकार गरेको थियो । न्यायाधीश टंकबहादुर महतको इजलासले म्याद थप अस्वीकार गरेपछि मोरङ प्रहरीले उनलाई सीआईबीको जिम्मा लगाएको हो ।

प्रहरी स्रोतका अनुसार गिरीमाथि विभिन्न आर्थिक कारोबार, ठगी तथा आपराधिक समूह सञ्चालनसँग सम्बन्धित विषयमा अनुसन्धान भइरहेको छ । पछिल्लो समय पूर्वी नेपालमा आपराधिक समूह सक्रिय रहेको सूचनापछि सुरक्षा निकायले निगरानी बढाएको थियो । सोही क्रममा गिरी पक्राउ परेका हुन् ।

सीआईबीले अब काठमाडौंमा राखेर गिरीसँग विस्तृत बयान लिने तथा उनीसँग जोडिएका अन्य व्यक्ति, आर्थिक कारोबार र सम्भावित आपराधिक सञ्जालबारे अनुसन्धान अघि बढाउने तयारी गरेको जनाएको छ । प्रहरीले अनुसन्धानको गोपनीयताका कारण थप विवरण सार्वजनिक गरेको छैन ।

अभिषेक गिरी पूर्वी नेपालमा ‘गुन्डानाइके’को रूपमा चिनिने व्यक्तिमध्ये एक मानिन्छन् । उनीमाथि यसअघि पनि विभिन्न आपराधिक गतिविधिसँग सम्बन्धित आरोप लाग्दै आएका थिए । प्रहरीले भने अनुसन्धान प्रक्रिया जारी रहेकाले प्रमाणका आधारमा थप तथ्य सार्वजनिक गरिने जनाएको छ ।

तपाईको प्रतिक्रिया