इटहरी/ जनता माध्यमिक विद्यालय को विद्यालय व्यवस्थापन समिति गठन प्रक्रियालाई लिएर विवाद उत्पन्न भएको छ। सामाजिक सञ्जालमा “व्यक्ति विशेषलाई अध्यक्ष सिफारिस गरिएको” भन्ने विषय सार्वजनिक भएपछि यसप्रति चासो बढेको हो।
सुनसरी निर्वाचन क्षेत्र नं. ३ बाट निर्वाचित सभासद् अशोकमार चौधरी ले उक्त विषयलाई गम्भीर र आपत्तिजनक भएको बताएका छन्। उनले विद्यालय व्यवस्थापन समिति कुनै दल, गुट वा कर्मचारीको निजी सम्पत्ति नभएको उल्लेख गर्दै यसको गठन प्रक्रिया शिक्षा ऐनअनुसार हुनुपर्ने बताएका छन्।
उनका अनुसार हाल अध्यादेशमार्फत अभिभावकबाहिरबाट “शिक्षासेवी” वा “चन्दादाता” का नाममा हुने मनोनयनको व्यवस्था समेत खारेज भइसकेको अवस्थामा कानुनविपरीत गरिएको कुनै पनि निर्णय स्वीकार्य हुन सक्दैन।
सभासद् चौधरीले अभिभावक प्रतिनिधि तथा पदेन सदस्यसहितको वैधानिक बैठक नै नबसी इटहरी शिक्षा समितिले कसैलाई अध्यक्ष बनाउने प्रयास गरेको भए त्यो निर्णय पूर्ण रूपमा गैरकानुनी र बदनियतपूर्ण कार्य हुने बताएका छन्।
उनले विद्यालयलाई निजी स्वार्थको अखडा बनाउने प्रयास तत्काल रोक्न सम्बन्धित पक्षसँग आग्रह गरेका छन्।





