इटहरी /  झापा निर्वाचन क्षेत्र नम्बर ५ अन्तर्गत पर्ने कमल गाउँपालिकाका नेपाली कांग्रेसका सचिव महेन्द्र बुढाथोकी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन्।
बुढाथोकीले सामाजिक सञ्जाल फेसबुकमार्फत नेपाली कांग्रेस कमल गाउँ कार्यसमितिको सचिव पद तथा पार्टीको साधारण सदस्यसमेतबाट राजीनामा दिएको जानकारी गराएका हुन्। उनले आफ्नो राजीनामाबारे सम्बन्धित पार्टी सभापतिलाई औपचारिक रूपमा अवगत गराइसकेको बताएका छन्।
राजीनामापछि सार्वजनिक गरेको धारणा अनुसार उनले पार्टीभित्रको कार्यशैलीप्रति असन्तुष्टि जनाएका छन्। बुढाथोकीले पार्टीमा गरिएको मेहनत र योगदान केही सीमित व्यक्तिले मात्र आफ्नो स्वार्थका लागि प्रयोग गरेको आरोप लगाउँदै पार्टी प्रणालीभन्दा व्यक्तिको आदेशमा चल्ने परिपाटीमा सुधारको संकेत नदेखिएको उल्लेख गरेका छन्।
उनले देशले माग गरेको परिवर्तनलाई अस्वीकार गर्दै यथास्थितिलाई जोगाइराख्ने प्रवृत्ति र नेताहरूको व्यक्तिगत स्वार्थ केन्द्रित चरित्रले युवामैत्री देश निर्माणको अभियानमा बाधा पुगेको धारणा व्यक्त गरेका छन्। यस्तो अवस्था आफ्नो स्वभाव र स्वाभिमानले स्वीकार गर्न नसक्ने भएकाले पार्टी छाड्ने निर्णयमा पुगेको उनको भनाइ छ।
बुढाथोकीले आजकै मितिदेखि रास्वपाका सभापति रवि लामिछानेको नेतृत्वमा चलिरहेको परिवर्तनको अभियानमा सहभागी हुने र झापा–५ बाट युवा आइकन बालेन शाहलाई विजयी बनाउन निस्वार्थ सहयोग गर्ने प्रतिबद्धता पनि जनाएका छन्।

तपाईको प्रतिक्रिया