इटहरी :विकास निर्माणका महत्त्वपूर्ण योजनाहरू अधुरो छाडेर ठेकेदारहरू सम्पर्कविहीन बनेपछि इटहरी उपमहानगरपालिकाले कडा कदम चालेको छ। पटक–पटकको ताकेता र सार्वजनिक सूचना बेवास्ता गरेपछि उपमहानगरले ७ वटा निर्माण कम्पनीलाई १५ दिनभित्र लिखित स्पष्टीकरण पेस गर्न अल्टिमेटम दिएको हो।
उपमहानगरका अनुसार तोकिएको समयभित्र चित्तबुझ्दो स्पष्टीकरण नआए सार्वजनिक खरिद नियमावली, २०६४ को नियम १४१ अनुसार सम्बन्धित ठेकेदारलाई कालोसूचीमा राख्ने, जरिवाना गर्ने, जमानत जफत गर्ने तथा ठेक्का सम्झौता रद्द गर्ने प्रक्रिया अघि बढाइनेछ।
ठेकेदारको लापरबाहीका कारण सर्वसाधारणको दैनिक जीवन प्रभावित हुनुका साथै विकास बजेट समेत जोखिममा परेको उपमहानगरको ठहर छ। सडक, पुल, पार्क, अस्पताल र सङ्ग्रहालयजस्ता महत्त्वपूर्ण पूर्वाधार निर्माण कार्य लामो समयदेखि अधुरो अवस्थामा छाडिएका छन्। समयमै काम सम्पन्न नहुँदा बजेट फिर्ता जाने र नागरिक आवश्यक सेवा–सुविधाबाट वञ्चित हुने अवस्था सिर्जना भएको उपमहानगरले जनाएको छ।
उपमहानगर स्रोतले भन्यो, “ठेकेदारहरूको दया–मायामा विकास निर्माण रोकिरहन सकिँदैन। कानुन अनुसार कारबाही हुन्छ।” यसअघि भदौ १ गते नै सूचना जारी गरी सम्पर्कमा आउन आग्रह गरिए पनि सम्बन्धित कम्पनीहरूले बेवास्ता गरेका थिए।
१४ वटा योजना अलपत्र
उपमहानगरका अनुसार ती ठेकेदारहरूले कुल १४ वटा योजना अलपत्र पारेका छन्, जसमा सडक कालोपत्रे, पुल निर्माण, पार्क विकास र सार्वजनिक संरचनाहरू समावेश छन्।
प्रमुख अलपत्र योजनाहरू
गिरी कन्स्ट्रक्सन प्रा.ली. (हात्तिवन, ललितपुर)
इटहरी–१७ लबीपुर मजाह्रा सडक, जतपुर–बिसनपुर पर्खाल निर्माण, बिसनपुर–अमाहा सडक ग्राभेल, इटहरी–१४ हुलाकी सडक राधाकृष्ण मार्ग स्कुल टोल कालोपत्रे, इटहरी–८ सतनमार्ग कालोपत्रे
(सबैभन्दा बढी ५ योजना अधुरो)
अनु निर्माण सेवा (भोजपुर)
इटहरी–२० धनपुरी मार्ग सडक कालोपत्रे तथा टेङ्ग्रा खोला कोरिडोर रिटर्निङ वाल
(काम सुरु नै नगरी अलपत्र)
श्री अङ्कित कन्स्ट्रक्सन (सिराहा)
इटहरी–६ सार्वजनिक स्मार्ट शौचालय र इटहरी–१६ हक्राहा खोलाको बक्स पुल
(शौचालय बने पनि सञ्चालनमा नआएको)
प्रेरा पूर्णचण्डी गिरी जे.भी. (हात्तिवन, ललितपुर)
इटहरी–१० आदिवासी जनजाति सङ्ग्रहालय
(२०७८ मा सम्झौता, हालसम्म १६.७२ प्रतिशत मात्र प्रगति)
एम.के. कन्स्ट्रक्सन (सिराहा)
इटहरी–१६ गोइदा खोलाको पुल
भैरव–नारायण जे.भी. (नेपालगन्ज, बाँके)
इटहरी–१५ भोटिया खोलाको पुल
आर.वन कन्स्ट्रक्सन (इटहरी)
खनार प्रहरी चौकी–भानु मार्ग सडक
प्रतिष्ठा गिरी जे.भी.
इटहरी–९ मा निर्माणाधीन १५ शय्याको इटहरी अस्पताल भवन
(६५ प्रतिशत काम सम्पन्न, बाँकी ३५ प्रतिशत अनिश्चित)
उपमहानगरका अनुसार गिरी कन्स्ट्रक्सन, प्रेरा पूर्णचण्डी गिरी र प्रतिष्ठा गिरी जे.भी. एउटै व्यक्ति कुमार गिरीसँग सम्बन्धित छन्। उनले विभिन्न नामका कम्पनीमार्फत ७ वटा ठेक्का लिएको पाइएको छ। गिरीले भने समयमै भुक्तानी नपाएको र निर्माण सामग्रीको मूल्यवृद्धिका कारण काम ढिलाइ भएको दाबी गरेका छन्।
उपमहानगरको स्पष्ट सन्देश
यसअघि पनि उपमहानगरको कडा कदमपछि केही ठेकेदार काममा फर्किएको उदाहरण रहेकाले यसपटक पनि कानुनी प्रक्रिया अनुसार कडाइका साथ कारबाही अघि बढाइने उपमहानगरले जनाएको छ।
मेयर हेमकर्ण पौडेलले स्पष्ट शब्दमा भने,
“कानुनका छिद्र प्रयोग गरेर धेरै ठेक्का लिने र काम अलपत्र पार्ने प्रवृत्ति अब सह्य हुँदैन। विकासमा ढिलासुस्ती गर्ने जो–कोहीलाई कानुनअनुसार कारबाही हुन्छ।”

तपाईको प्रतिक्रिया