
इटहरी /इटहरीस्थित कस्तुरी कलेजले यही शैक्षिक सत्रदेखि चार वर्षे स्नातक तहको सूचना प्रविधि (बीआइटी) कार्यक्रम सञ्चालनमा ल्याएको छ।
कोशी प्रदेशमै व्यवस्थापन शिक्षा क्षेत्रमा उत्कृष्ट नतिजा ल्याउँदै आएको कलेजले सूचना प्रविधिको बढ्दो मागलाई ध्यानमा राख्दै ब्याचलर इन इन्फरमेसन टेक्नोलोजी (बीआइटी) कार्यक्रम सुरु गरेको कलेजका प्राचार्य कमलेश शर्मा पौडेलले जानकारी दिए।
“बीआइटी गरेका विद्यार्थीले शीघ्र रोजगार पाउने सम्भावना उच्च हुने भएकाले यस कार्यक्रमको स्कोप पनि राम्रो छ,” प्राचार्य पौडेलले बताए। उनले थपे, “यसअघि बीआइटी अध्ययनका लागि विराटनगर वा काठमाडौं जानुपर्ने बाध्यता थियो। अब इटहरीमै गुणस्तरीय शिक्षा प्रदान गर्दैछौं।”
कुनै पनि संकायबाट प्लस टु मा गणित विषय लिएर उत्तीर्ण भएका विद्यार्थीहरूले बीआइटीमा भर्ना हुन सक्नेछन्। कार्यक्रम अन्तर्गत ४८ विद्यार्थीका लागि सीट खुलाइएको छ, जसमा ५ जनालाई छात्रवृत्तिको व्यवस्था गरिने कलेजका प्रोफेसर डा. केदार पौडेलले जानकारी दिए।
यसअघि कलेजले बीबीए र बीबीएस कार्यक्रमहरू समेत सञ्चालन गर्दै आएको छ। बीबीए कार्यक्रमअन्तर्गत कलेजका विद्यार्थी संचिता कोइराला, सार्थकता तोदि र निशा शेर्पाले गोल्ड मेडल प्राप्त गरिसकेका छन्, जसबारे जानकारी कलेजका प्राचार्य भुपेन्द्र न्यौपानेले दिए। बीआइटी, बीबीए र बीबीएस कार्यक्रमको प्रवेश परीक्षा साउन ३० गते हुने जनाइएको छ।






