!इटहरी। इटहरी उपमहानगरपालिका वडा नम्बर ११ को वडाध्यक्ष पदमा उज्ज्वल भट्टराईले उम्मेदवारी प्रस्तुत गरेका छन्। साविक खनारका चारवटै वडामा सामाजिक गतिविधि तथा नागरिकका समस्यामा सक्रिय रहँदै आएका भट्टराईले आफूलाई आगामी निर्वाचनमा वडाध्यक्षको उम्मेदवारका रूपमा अघि सारेका हुन्।
‘इटहरी–११ मा मेरो उम्मेदवारी किन?’ शीर्षकमा आफ्नो धारणा सार्वजनिक गर्दै उनले वडाको समग्र विकास र विपन्न नागरिकको जीवनस्तर सुधार आफ्नो मुख्य उद्देश्य रहेको बताएका छन्। यद्यपि, उनले आफू कुन राजनीतिक दलबाट उम्मेदवार बन्ने भन्ने विषय भने तत्काल सार्वजनिक गर्न चाहेनन्।
इटहरी तीव्र गतिमा सहरीकरण हुँदै गए पनि वडा नम्बर ११ का कतिपय बस्तीमा अझै स्वच्छ खानेपानी, व्यवस्थित शौचालय, विद्युत्, गुणस्तरीय शिक्षा र आधारभूत सडक पूर्वाधारको अभाव रहेको उनको भनाइ छ। कतिपय सडकमा सामान्य ग्राभेलसमेत हुन नसकेको र विपन्न परिवारका सदस्यहरू उचित ओछ्यान तथा बिछ्यौनाको अभावमा भुइँमा पराल ओछ्याएर रात बिताउन बाध्य रहेको उनले उल्लेख गरेका छन्।
विकास भनेको ठूला भवन र फराकिला सडक निर्माण मात्र नभई समाजको सबैभन्दा पछाडि परेको नागरिकले समेत सम्मानपूर्वक जीवनयापन गर्न पाउनु भएको उनको धारणा छ।
उनले स्वच्छ खानेपानी, सडक, नाला, ढल, विद्युत्, शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षा, विपन्न परिवारको आवास तथा जीविकोपार्जनलाई प्राथमिकतामा राखेका छन्। त्यस्तै, युवा तथा महिलाका लागि सीप र स्वरोजगारका अवसर, कृषि तथा सिँचाइको विकास, किसानलाई मल, बीउबिजन र कृषि औजारमा सहज पहुँच तथा वडाको बजेट र योजनामा पारदर्शिता कायम गर्ने प्रतिबद्धता पनि सार्वजनिक गरेका छन्।
वर्तमान राजनीतिक परिस्थितिमा युवाहरूको सक्रिय सहभागिता आवश्यक रहेको बताउँदै भट्टराईले आफू कुनै पनि हालतमा उम्मेदवारीबाट पछि नहट्ने स्पष्ट पारेका छन्। पद र व्यक्तिगत स्वार्थभन्दा नागरिकका समस्या समाधान तथा वडाको समानुपातिक विकास आफ्नो प्राथमिकता रहेको उनको दाबी छ।
यद्यपि, उनको उम्मेदवारी कुन राजनीतिक दलबाट हुनेछ वा स्वतन्त्र रूपमा प्रतिस्पर्धा गर्नेछन् भन्ने विषय भने खुल्न बाँकी छ।





