
इटहरी । सवारी दुर्घटनामा मृत्यु भएको ठानेर परिवारले अन्त्येष्टि गरिसकेका मोरङको लेटाङका एक व्यक्ति छ महिनापछि जीवितै घर फर्किएपछि परिवार, छरछिमेकदेखि प्रहरी र अस्पतालका चिकित्सकसमेत आश्चर्यमा परेका छन्।
मोरङको लेटाङ नगरपालिका–५, खेरुवाका ३७ वर्षीय पदमबहादुर राईलाई गत जेठमा सवारी दुर्घटनामा मृत्यु भएका व्यक्तिका रूपमा उनकी आमाले सनाखत गरेपछि शव परिवारलाई बुझाइएको थियो। तर, मृत्यु भइसकेको ठानिएका राई अहिले घर फर्किएपछि दुर्घटनामा ज्यान गुमाएका भनिएका व्यक्तिको वास्तविक पहिचानबारे नयाँ प्रश्न उठेको छ।
प्रहरीका अनुसार २०८२ माघदेखि घरबाट निस्किएका राईको मानसिक अवस्था कमजोर रहेको परिवारले जनाएको थियो। २०८३ जेठ २६ गते बिहान सुनसरीको बराहक्षेत्र नगरपालिका–४ स्थित चतरा–पकली सडकखण्डमा मोटरसाइकलको ठक्करबाट एक पैदलयात्री गम्भीर घाइते भएका थिए।
उपचारका लागि विराट टिचिङ अस्पताल, बुढीगंगामा भर्ना गरिएका ती व्यक्तिको उपचारकै क्रममा मृत्यु भएपछि शव कोशी अस्पतालको शवगृहमा राखिएको थियो। मृतकको पहिचान खुल्न नसकेपछि प्रहरीले आफन्तलाई सम्पर्कमा आउन सार्वजनिक सूचना जारी गरेको थियो। त्यसपछि पदमबहादुरकी आमाले शव आफ्नै छोराको भएको भन्दै सनाखत गरेपछि प्रहरीले कानुनी प्रक्रिया पूरा गरी शव परिवारलाई बुझाएको थियो।
परिवारले अन्त्येष्टि गर्नुका साथै दुर्घटना बीमाबापतको रकमसमेत प्राप्त गरिसकेको थियो। तर, पदमबहादुर जीवितै घर फर्किएपछि प्रहरी र अस्पताललाई घटनाको पुनः अनुसन्धान गर्नुपर्ने अवस्था आएको छ।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक कवित कटुवालका अनुसार घटनामा संलग्न निकायले अब मृतक भनिएका व्यक्तिको वास्तविक पहिचान पत्ता लगाउनुपर्नेछ। यसका लागि शवसँग सम्बन्धित फोटो, भिडियो तथा अन्य अभिलेखका आधारमा अनुसन्धान अघि बढाइनेछ। प्राप्त बीमा रकम फिर्ता गर्ने प्रक्रियासमेत सुरु गर्नुपर्ने भएको छ।
घटनाबारे बुझ्न इलाका प्रहरी कार्यालय लेटाङका प्रहरी निरीक्षक सागर साह पदमबहादुरको घर पुगेका थिए। उनका अनुसार परिवारमा एकातिर छोरा जीवितै फर्किएको खुसी छ भने अर्कोतिर यसअघि गरिएको सनाखत र अन्त्येष्टिका कारण अन्योलसमेत देखिएको छ।
प्रहरीका अनुसार विवाहपछि जीवनसाथीले छोडेर गएपछि पदमबहादुरको मानसिक समस्या थप गहिरिएको र उनी घर छोडेर हिँडेको बताइएको छ। लामो समयसम्म सम्पर्कविहीन रहेका कारण उनकी आमाले दुर्घटनामा मृत्यु भएका व्यक्तिलाई आफ्नै छोरा ठानेर सनाखत गरेको हुन सक्ने प्रहरीको प्रारम्भिक बुझाइ छ।
घटनाले नयाँ मोड लिएपछि परिवारलाई बिहीबार कोशी अस्पतालमा बोलाइएको छ। अब दुर्घटनामा मृत्यु भएका वास्तविक व्यक्तिको पहिचान गर्नुका साथै यसअघि गरिएको सनाखत, शव हस्तान्तरण र बीमा भुक्तानीसम्बन्धी प्रक्रिया पुनः जाँच गरिने भएको छ।
छ महिनासम्म मृत ठानिएका व्यक्ति जीवितै फर्किएपछि अब दुर्घटनामा वास्तवमै ज्यान गुमाएका व्यक्तिको पहिचान खुलाउनु प्रहरी र अस्पतालका लागि मुख्य चुनौती बनेको छ।





