- विचार तथा विश्लेषण : तीर्थराज बजगाई
विचार तथा विश्लेषण : तीर्थराज बजगाई

कुनै संस्थाको वास्तविक शक्ति भवनमा, प्रविधिमा, पूँजीमा, बजारमा कहाँ हुन्छ ? यी सबै आवश्यक छन् तर यी सबै स्रोतलाई सही दिशामा परिचालन गर्ने ब्यक्ति सक्षम छैन भने उत्कृष्ट योजना पनि असफल हुन सक्छ । त्यसैले आधुनिक व्यवस्थापनमा संस्थाको सबैभन्दा ठूलो सम्पत्ति उसको मानव शक्ति हो भन्ने एउटा महत्वपुर्ण सत्य स्थापित भएको छ । तर आजको प्रतिस्पर्धात्मक युगमा मानिसलाई केवल ‘श्रमिक/ कर्मचारी’ भनेर बुझेर पुग्दैन । ती मानिस भित्र रहेको ज्ञान, सीप, अनुभव, सिर्जनशीलता, नेतृत्व क्षमता र सम्भावनालाई संस्थाको दीर्घकालीन उद्देश्यसँग जोड्न सक्नुपर्छ । यही सोचको विकसित रूप नै रणनीतिक मानव संसाधन व्यवस्थापन हो । मानव संसाधनको भूमिका बदलिँदैछ, परम्परागत रूपमा मानव संसाधन व्यवस्थापनलाई जनशक्ति भर्ना गर्ने, हाजिरी राख्ने, तलब/भत्ता व्यवस्थापन गर्ने, बिदा स्वीकृत गर्ने र अनुशासन कायम गर्ने प्रशासनिक कार्यका रूपमा बुझिन्थ्यो । यी काम आज पनि आवश्यक छन् । तर यतिले मात्र आधुनिक मानव संसाधनको भूमिका पुरा हुँदैन । आज मानव संसाधनले संस्थाको भविष्यसँग जोडिएका प्रश्नको उत्तर खोज्नुपर्छ । संस्था पाँच वर्षपछि कहाँ पुग्न चाहन्छ ? त्यसका लागि कस्तो जनशक्ति आवश्यक पर्छ ? अहिलेका जनशक्तिसँग आवश्यक सीप छ कि छैन ? भविष्यका नेतृत्वकर्ता को हुन् ? उत्कृष्ट प्रतिभालाई संस्थामा कसरी टिकाइराख्ने ? प्रविधिको परिवर्तनसँग आफुसँग भएको जनशक्तिलाई कसरी अनुकुल बनाउने ? यी प्रश्नको रणनीतिक उत्तर खोज्नु नै रणनीतिक मानव संसाधन व्यवस्थापन हो । अर्थात्, मानव संसाधन अब प्रशासनिक शाखा मात्र होइन; संस्थाको रणनीतिक साझेदार पनि हो । रणनीति सफल बनाउन मानिस चाहिन्छ । कुनै संस्थाले आगामी पाँच वर्षमा आफ्नो व्यवसाय दोब्बर बनाउने लक्ष्य राख्यो भने उसलाई पूँजी र प्रविधिले मात्र पुग्दैन । त्यो लक्ष्य पुरा गर्न आवश्यक जनशक्तिको योजना पनि चाहिन्छ । नयाँ बजारमा प्रवेश गर्ने हो भने बजार बुझ्ने ब्यक्तिहरु चाहिन्छ । डिजिटल व्यवसाय विस्तार गर्ने हो भने डिजिटल सीप भएका ब्यक्तिहरु चाहिन्छ । उत्पादन बढाउने हो भने प्राविधिक दक्षता भएका ब्यक्तिहरु चाहिन्छ । नेतृत्व विस्तार गर्ने हो भने नेतृत्व क्षमता भएको मानिस चाहिन्छ ।
यसैले व्यावसायिक रणनीति र मानव संसाधन रणनीति अलग-अलग विषय होइनन् । संस्थाको रणनीति जति उत्कृष्ट भए पनि त्यसलाई कार्यान्वयन गर्ने सही मानिस छैन भने त्यो रणनीति कागजमै सीमित हुन सक्छ ।
नेपालमा युवा जनशक्तिको ठूलो हिस्सा रोजगारी र अवसरका लागि विदेश जाने गरेको छ । अर्कोतर्फ, देशभित्र रहेका धेरै संस्थाले दक्ष जनशक्ति आकर्षित गर्न र टिकाइराख्न चुनौती सामना गरिरहेका छन् । यसलाई केवल वैदेशिक रोजगारीको समस्या भनेर बुझ्नु पर्याप्त हुँदैन । यो हाम्रो मानव संसाधन व्यवस्थापनको चुनौती पनि हो । दक्ष जनशक्तिलाई संस्थामा टिकाइराख्न तलब मात्र पर्याप्त हुँदैन । ब्यक्तिले आफ्नो भविष्य देख्नुपर्छ । उसले नयाँ कुरा सिक्ने अवसर पाउनुपर्छ । करियर विकासको बाटो स्पष्ट हुनुपर्छ । उसको कामको निष्पक्ष मूल्याङ्कन हुनुपर्छ । नेतृत्वले उसको विचार सुन्नुपर्छ । कार्यस्थल सम्मानजनक र सुरक्षित महसुस हुने हुनुपर्छ । जब मानिसले संस्थाभित्र आफ्नो भविष्य देख्दैन, तब उसले बाहिर अवसर खोज्नु स्वाभाविक हो । त्यसैले नेपालका संस्थाले मानिसलाई काम गर्ने जनशक्ति होइन, संस्थाको भविष्य निर्माण गर्ने साझेदारका रूपमा हेर्नुपर्ने बेला आएको छ ।
रणनीतिक मानव संसाधन व्यवस्थापनको महत्वपूर्ण आधार जनशक्ति सहभागिता हो । कार्यस्थलमा ब्यक्ति उपस्थित हुनु र संस्थाप्रति प्रतिबद्ध हुनु एउटै कुरा होइन । वास्तविक सहभागिता त्यतिबेला देखिन्छ, जब ब्यक्तिले आफ्नो कामको महत्व बुझ्छ, संस्थाको उद्देश्यसँग आफूलाई जोड्छ र आफ्नो योगदानले परिणाम ल्याइरहेको महसुस गर्छ । काम गर्ने ब्यक्तिको सुझाव सुन्ने, उपलब्धिको सम्मान गर्ने, निर्णय प्रक्रियामा आवश्यक सहभागिता गराउने र खुला संवादको वातावरण बनाउने संस्थाले निज ब्यक्तिको अपनत्व बढाउन सक्छ । यसबाट एउटा महत्वपूर्ण पाठ सिक्न सकिन्छ, मानिसलाई व्यवस्थापन गर्नुभन्दा निजसँग सहकार्य गर्नु बढी प्रभावकारी हुन्छ । पारिश्रमिक काम गर्ने ब्यक्तिको आधारभुत आवश्यकता हो । उचित तलब र सुविधा बिना निजलाई दीर्घकालीन रूपमा उत्प्रेरित गर्न कठिन हुन्छ । तर आजको पुस्ताका लागि तलब मात्र पर्याप्त छैन । करियर विकास, सिकाइको अवसर, काम र जीवनको सन्तुलन, सम्मान, स्वायत्तता, सकारात्मक कार्यसंस्कृति र अर्थपूर्ण काम पनि उत्तिकै महत्वपूर्ण छन् ।
त्यसैले आधुनिक संस्थाले केवल काम गर्ने ब्यक्तिलाई कति तलब दिने ? भन्ने प्रश्न गरेर पुग्दैन । उसले अर्को प्रश्न पनि सोध्नुपर्छ, निजलाई यहाँ काम गरिरहन किन मन लागोस् ? यही प्रश्नले संस्थाको कार्यसंस्कृति र मानव संसाधन रणनीतिको वास्तविक गुणस्तर देखाउँछ ।
कृत्रिम बुद्धिमत्ता, स्वचालन, डिजिटल प्रणाली र डेटा विश्लेषणले काम गर्ने तरिका तीव्र गतिमा बदलिरहेका छन् । केही काम स्वचालित हुन सक्छन्, केही नयाँ काम सिर्जना हुन सक्छन् र धेरै कामका लागि आवश्यक सीप नै परिवर्तन हुन सक्छ। यस अवस्थामा जनशक्तिलाई परिवर्तनबाट डराउने होइन, परिवर्तनका लागि तयार पार्ने जिम्मेवारी संस्थाको हो । नयाँ सीप सिकाउने र विद्यमान सीपलाई नयाँ आवश्यकता अनुसार विकास गर्ने कार्य अब वैकल्पिक विषय होइन, यो संस्थाको प्रतिस्पर्धात्मक क्षमतासँग जोडिएको आवश्यकता हो । प्रविधिले मानिसलाई विस्थापित गर्नेभन्दा पनि मानिस र प्रविधिबीचको सहकार्यलाई नयाँ उचाइमा लैजान सक्छ । मेसिनले तथ्याङ्क विश्लेषण गर्न सक्छ; तर नेतृत्व, सहानुभूति, नैतिक निर्णय, विश्वास निर्माण र सिर्जनशीलताको मानवीय पक्ष अझै महत्वपूर्ण छन् । त्यसैले भविष्यको मानव संसाधनको प्रश्न कृत्रिम बुद्धिमत्ताले मानिसलाई विस्थापित गर्छ कि गर्दैन ? मात्र होइन; कृत्रिम बुद्धिमत्ताको युगमा मानिसलाई अझ सक्षम कसरी बनाउने ? भन्ने पनि हो।
संस्थामा सबै मानिसको क्षमता एउटै हुँदैन । कसैमा नेतृत्व क्षमता, कसैमा प्राविधिक दक्षता, कसैमा सिर्जनशीलता र कसैमा उत्कृष्ट सम्बन्ध निर्माण गर्ने क्षमता हुन्छ । रणनीतिक मानव संसाधनले यी क्षमताको पहिचान गरी सही स्थानमा उपयोग गर्नुपर्छ । Right Person, Right Job, Right Time भन्ने सिद्धान्त व्यवहारमा लागु गर्न सकियो भने संस्थाको उत्पादकत्व र कार्यसम्पादन दुवै सुधार गर्न सकिन्छ ।
त्यसका लागि प्रतिभा पहिचान, नेतृत्व विकास, करियर व्यवस्थापन र भविष्यका नेतृत्वकर्ताको पूर्वतयारी आवश्यक हुन्छ । आजको कर्मचारीमध्ये भोलिको व्यवस्थापक, निर्देशक वा नेतृत्वकर्ता को बन्न सक्छ ? भन्ने पहिचान गर्न नसक्ने संस्था भविष्यका लागि सधैँ बाह्य जनशक्तिमा निर्भर हुन सक्छ ।
रणनीतिक मानव संसाधन व्यवस्थापनको अर्को आधार निष्पक्षता र पारदर्शिता हो । योग्यता र कार्यसम्पादनभन्दा व्यक्तिगत सम्बन्ध, पहुँच वा पक्षपातले अवसर निर्धारण गर्न थाल्यो भने संस्थाभित्र विश्वास कमजोर हुन्छ। प्रतिभाशाली ब्यक्तिहरु निराश हुन्छन् र संस्थाबाट बाहिरिन सक्छन् । त्यसैले भर्ती, पदोन्नति, पुरस्कार, कार्यसम्पादन मूल्याङ्कन तथा नेतृत्व चयनमा स्पष्ट मापदण्ड आवश्यक छ । मानिसको मन जित्नुअघि उसको विश्वास जित्नुपर्छ । विश्वास गुमेको संस्थामा नियम धेरै हुन सक्छन्, तर प्रतिबद्धता कम हुन सक्छ । अब मानव संसाधनको सोच बदल्नुपर्छ । नेपालका सरकारी, निजी तथा गैरसरकारी संस्थाले मानव संसाधनलाई केवल खर्चको शीर्षकका रूपमा हेर्ने पुरानो दृष्टिकोण परिवर्तन गर्न आवश्यक छ । कर्मचारीलाई खर्च ठान्ने संस्थाले लागत घटाउन खोज्छ । कर्मचारीलाई लगानी ठान्ने संस्थाले क्षमता बढाउन खोज्छ । यी दुई दृष्टिकोणबीचको अन्तर नै दीर्घकालीन संस्थागत सफलताको अन्तर बन्न सक्छ । अब मानव संसाधनले केवल जनशक्तिको संख्या बताएर पुग्दैन । उसले भन्न सक्नुपर्छ कि हामीसँग कस्ता प्रतिभा छन् ? भोलिका लागि कस्ता प्रतिभा चाहिन्छ ? कुन सीपको कमी छ ? कुन ब्यक्ति नेतृत्वका लागि तयार छ ? मानिसहरु किन संस्थामा टिकिरहेका छन् वा किन छोडिरहेका छन् ? मानव संसाधनमा गरिएको लगानीले संस्थाको परिणाममा कस्तो प्रभाव पारेको छ ? यस्ता प्रश्नको उत्तर दिन सक्ने मानव संसाधन नै रणनीतिक मानव संसाधन हो ।
आज संस्थाहरूबीच प्रतिस्पर्धा केवल बजार र ग्राहकका लागि मात्र छैन; प्रतिभाका लागि पनि छ । उत्कृष्ट जनशक्ति जहाँ राम्रो अवसर, सम्मान, सिकाइ र भविष्य देख्छ, त्यहीँ जान्छ । त्यसैले संस्थाको भविष्य सुरक्षित गर्न पूँजी र प्रविधिमा मात्र होइन, मानिसमा लगानी गर्नुपर्छ । आफ्नो जनशक्तिलाई नियन्त्रण गर्ने होइन, क्षमता विकास गर्ने; केवल काम लगाउने होइन, उद्देश्यसँग जोड्ने; केवल तलब दिने होइन, भविष्य निर्माण गर्ने; र जनशक्तिलाई खर्च होइन, संस्थाको दीर्घकालीन मूल्यका रूपमा स्वीकार गर्ने कुराहरु रणनीतिक मानव संसाधन व्यवस्थापनको सार हो । अब संस्थाले एउटा नयाँ प्रश्न सोध्नुपर्छ, हाम्रो संस्थामा कति जनशक्ति छ ? भन्ने प्रश्नभन्दा महत्वपूर्ण हाम्रा जनशक्ति भित्र रहेको सम्भावनालाई हामीले कति चिन्न, विकास गर्न र संस्थाको भविष्यसँग जोड्न सकेका छौँ ? यही प्रश्नको उत्तर खोज्ने व्यवस्थापन नै रणनीतिक मानव संसाधन व्यवस्थापन हो । मानव संसाधन व्यवस्थापनको भविष्य मानिस गन्ने व्यवस्थापनमा होइन, मानव सम्भावना चिन्ने, विकास गर्ने र सही दिशामा परिचालन गर्ने व्यवस्थापनमा छ । जुन संस्थाले आज मानिसको सम्भावनामा लगानी गर्छ, त्यही संस्थाले भोलिको सफलता दिगो बनाउन सक्छ ।

तपाईको प्रतिक्रिया