इटहरी । सुनसरीको इटहरी उपमहानगरपालिका–१३ मा प्रहरीले ठूल परिमाणमा लागूऔषध ट्याब्लेट बरामद गरेको छ। खनार प्रहरी चौकीबाट खटिएको टोलीले १३ हजार ९४० थान लागूऔषध ट्याब्लेटसहित सिटी सफारी र मोटरसाइकलसमेत बरामद गरेको हो।

विशेष सूचनाका आधारमा  खटिएको प्रहरी टोलीले कारबाहीका क्रममा लागूऔषधसहित तीन जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा हरिनगर गाउँपालिका–७ का होनामा सजीप खान, इनरुवा नगरपालिका–७ का अब्दुल हसन खान र देवानगञ्ज गाउँपालिका–६ का मोतिन खान रहेका छन्।

प्रहरीले बरामद गरेको १३ हजार ९४० थान ट्याब्लेटको प्रकार तथा लागूऔषध कारोबारमा सिटी सफारी र मोटरसाइकलको प्रयोगसम्बन्धी थप विवरण भने खुल्न बाँकी छ। पक्राउ परेका तीनै जनामाथि घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको छ।

खनार तथा आसपासका क्षेत्रमा पछिल्लो समय लागूऔषधसम्बन्धी गतिविधि बढ्दै गएको भन्दै चिन्ता व्यक्त भइरहेका बेला प्रहरीले गरेको यो कारबाहीलाई महत्त्वपूर्ण रूपमा हेरिएको छ। प्रहरीको सक्रियता बढेसँगै यस क्षेत्रमा लागूऔषध बरामद गर्ने तथा शङ्कास्पद गतिविधिमा संलग्न व्यक्तिहरूलाई नियन्त्रणमा लिने क्रम  बढ्दै गएको  छ।

लागूऔषधको अवैध कारोबार नियन्त्रण गर्न प्रहरीले निगरानी र अनुसन्धानलाई तीव्र बनाएको छ। लागूऔषधको कारोबारले विशेषगरी युवा पुस्ताको स्वास्थ्य, भविष्य र सामाजिक सुरक्षामा गम्भीर असर पार्न सक्ने भएकाले यसको नियन्त्रणमा प्रहरीसँगै स्थानीय समुदायको सहयोगसमेत आवश्यक देखिएको छ।

 

तपाईको प्रतिक्रिया