इटहरी । सुनसरीको इटहरी उपमहानगरपालिका–१२ खनार निवासी नेपाली कांग्रेसका सक्रिय सदस्य तथा सामाजिक व्यक्तित्व भोजराज दाहालको निधन भएको छ। केही समयदेखि बिरामी रहनुभएका दाहालको गए राति १० बजे निधन भएको हो।
स्वर्गीय दाहाल नेपाली कांग्रेसमा आबद्ध एक निष्ठावान् र इमानदार सदस्यका रूपमा परिचित हुनुहुन्थ्यो। सामाजिक गतिविधिमा सक्रिय रहँदै आउनुभएका थियो।
उहाँ इटहरी–१२ का निवर्तमान वडाध्यक्ष तथा नेपाली कांग्रेसका युवा नेता हेमानन्द दाहाल (हिरा) का पिता हुनुहुन्थ्यो। दाहालको निधनले परिवार, स्थानीय समाज तथा नेपाली कांग्रेसमा अपूरणीय क्षति पुगेको छ।
स्वर्गीय दाहालका दुई छोरा, दुई छोरी र पत्नी हुनुहुन्छ। उहाँको निधनको खबरले परिवारजन, आफन्त तथा शुभेच्छुकहरू शोकमा परेका छन्।
पारिवारिक स्रोतका अनुसार स्वर्गीय दाहालको हिन्दू परम्पराअनुसार आज शुक्रबार बिहान ८ बजे इटहरीस्थित बूढीगंगा–जमुना मुक्ति घाटमा दाहसंस्कार गरिनेछ।
दाहालको निधनप्रति शोक व्यक्त गर्दै आफन्त तथा शुभेच्छुकहरूले दिवंगत आत्माको चिरशान्तिको कामना गरेका छन्। साथै शोकसन्तप्त परिवारजनमा धैर्यधारण गर्ने शक्ति मिलोस् भन्ने कामना गरिएको छ।






