इटहरी । चाडपर्वको मौका छोपेर खसीबोकाको मासुको मूल्य बढाइएको गुनासो बढेपछि जिल्ला प्रशासन कार्यालय सुनसरीले प्रतिकेजी अधिकतम १ हजार १०० रुपैयाँमा बिक्री गर्न निर्देशन दिएको छ। तर, प्रशासनको निर्देशनविपरीत जिल्लाका विभिन्न बजारमा
१ हजार २०० रुपैयाँसम्ममा मासु बिक्री भइरहेको उपभोक्ताले गुनासो गरेका छन्।
जिल्ला प्रशासन कार्यालय सुनसरीले २०८३ असोज २९ गते सूचना जारी गर्दै अर्को व्यवस्था नभएसम्म जिल्लाभर खसीबोकाको मासु प्रतिकेजी बढीमा १ हजार १०० रुपैयाँमा खरिदबिक्री गर्न आग्रह गरेको हो। प्रशासनका अनुसार गत माघदेखि नै यही मूल्य कायम थियो र तत्काल मूल्य बढाउनुपर्ने मनासिब आधार देखिएको थिएन।
यसैबीच, मासुको मूल्य बढेको भन्दै व्यवसायीहरूले एक दिनअघि जिल्ला प्रशासन कार्यालयमा आफ्नो गुनासो राखेका थिए। तर, प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा भएको छलफलमा प्रतिकेजी १ हजार १०० रुपैयाँभन्दा बढी मूल्य कायम नगर्न निर्देशन दिइएको बताइएको छ।
व्यवसायीहरूले मूल्य बढेको दाबी गर्दै प्रशासनबाट मूल्य वृद्धि भएको भएको भन्दै झुटो भ्रम समेत फैलाएको छ। ।
प्रशासनको निर्देशन, बजारमा कार्यान्वयनको प्रश्न
इनरुवा, इटहरी, दुहबी, खनार, तरहरा र धरानलगायतका क्षेत्रमा तोकिएको मूल्यभन्दा बढीमा मासु बिक्री भइरहेको उपभोक्ताको गुनासो छ। प्रतिकेजी १ हजार १०० रुपैयाँमा बिक्री हुनुपर्ने मासुका लागि १ हजार २०० रुपैयाँसम्म तिर्नुपरेको उनीहरूको भनाइ छ।
प्रशासनले मूल्य निर्धारणसम्बन्धी सूचना जारी गरे पनि बजारमा त्यसको प्रभावकारी कार्यान्वयन भए–नभएको विषयमा प्रश्न उठेको छ।
उपभोक्ता संरक्षण ऐनअनुसार कारबाही सम्भव
उपभोक्ता संरक्षण ऐन, २०७५ ले अनुचित व्यापारिक क्रियाकलाप नियन्त्रण तथा उपभोक्ताको हित संरक्षणसम्बन्धी व्यवस्था गरेको छ। प्रशासनले जारी गरेको सूचना उल्लङ्घन गरी बढी मूल्यमा बिक्री गरेको प्रमाणित भएमा सूचनाको कानुनी आधार र प्रचलित कानुनअनुसार सम्बन्धित व्यवसायीमाथि कारबाहीको प्रक्रिया अघि बढाउन सकिन्छ।
यसका लागि प्रशासन, स्थानीय तह, बजार अनुगमन टोली र सम्बन्धित प्रहरी निकायबीच समन्वय आवश्यक देखिन्छ। मासु पसलमा मूल्यसूची राखे–नराखेको, बिक्री मूल्य, तौल र बिलको समेत जाँच गर्नुपर्ने उपभोक्ताको माग छ।
व्यवसायीले खरिद लागत, ढुवानी र आपूर्तिमा भएको परिवर्तनका आधारमा मूल्य समायोजनको माग राख्न सक्छन्। तर, प्रशासनले सार्वजनिक गरेको निर्देशन लागू रहेको अवस्थामा त्यसको पालना भए–नभएको विषयमा सम्बन्धित निकायले स्पष्ट जवाफ दिनुपर्ने हुन्छ।
अब प्रश्न उठेको छ—जिल्ला प्रशासन कार्यालयले तोकेको मूल्य बजारमा कार्यान्वयन गराउने जिम्मेवारी कसले लिने? चाडपर्वका बेला उपभोक्तालाई थप आर्थिक भारबाट जोगाउन प्रशासनले प्रभावकारी अनुगमन, व्यवसायीका गुनासोको तथ्यगत परीक्षण र आवश्यक कानुनी कारबाही अघि बढाउनुपर्ने देखिन्छ।





